नाम र तस्बिर सार्वजनिक गर्न लिङ्देनलाई सहमहामन्त्री यादवको चुनौती

हिमाल प्रेस १४ वैशाख २०८२ १५:४२
24
SHARES
नाम र तस्बिर सार्वजनिक गर्न लिङ्देनलाई सहमहामन्त्री यादवको चुनौती

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनीमा लुटपाट गर्ने कांग्रेसका सहमहामन्त्रीको छोराको तस्बिर सार्वजनिक गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन्।

जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सहमहामन्त्री यादवले प्रतिनिधिसभामा तस्बिर सार्वजनिक गर्न लिङ्देनलाई चुनौती दिएका हुन्।

लुटपाटमा संलग्न सहमहामन्त्रीका छोराको नाम र तस्बिर सार्वजनिक नगरे लिङ्देनविरूद्ध अदालत जाने उनले बताए।

सहमहामन्त्री यादवले भने,‘भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो? तस्बिर सार्वजनिक गर्नुस्। होइन भने हामी सबै सहमहामन्त्रीहरू तपाईँविरूद्ध अदालत जान्छौँ।’

गएको शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभालाई सम्बोधन गर्दै चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा कांग्रेसका एक जना सहमहामन्त्रीको छोरासमेत संलग्न भए पनि प्रहरीले तत्काल छोडेको बताएका थिए।

उनले गृहमन्त्री रमेश लेखकको ठाडो आदेशमा पक्राउ परेका कांग्रेस महामन्त्रीका छोरासहित उनीसँगै भएका अर्का एक जनालाई पनि छोडिएको दाबी गरेका थिए। लिङ्देनले भने कांग्रेसका कुनै पनि सहमहामन्त्रीको नाम लिएका थिएनन्।

प्रतिनिधिसभामा लिङ्देनले यस्तो बताएलगत्तै केही सञ्चारमाध्यमहरूमा भाटभटेनी लुटपाटमा सहमहामन्त्री यादवका छोरा मुकेश यादव संलग्न भएको समाचार प्रकाशित गरेका थिए।

पत्रकार सम्मेलनमा सहमहामन्त्री यादवले सञ्चारमाध्यममा आएको जस्तो मुकेश आफ्नो छोरा नरहेको प्रस्ट पारे। आकाश र विकास आफ्ना दुई छोरा रहेको उनले बताए।

उनले भने,‘मेरा दुई छोराहरू छन्, एक जना भारतको मथुरामा एमडी पढिरहेका छन्, अर्को काठमाडौँमा एमडीको तयारी गरिरहेका छन्। चैत १५ गते उनी घरबाट बाहिर निस्किएका थिएनन्, अनि कसरी लुटपाटमा संलग्न भए?।’

सहमहामन्त्री यादवले राप्रपा अध्यक्ष लिङ्देनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर आफ्नो र छोराहरूको चरित्र हत्या गर्ने काम गरेको आरोप लगाए। उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने काम गरेको यादवको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast