
काठमाडौँ- सप्तरीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम सडकखण्डको सप्तरीको कञ्चनरुप नगरपालिका–१० मा दुर्घटना भएको हो।
दुर्घटनामा परी बसमा सवार तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका सप्तरी सप्तकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारको क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
त्यस्तै बसले च्यापिएर मृत्यु भएका एक पुरुष र एक महिलाको सनाखत हुन बाँकी रहेको उनले बताएका छन्।
दुर्घटनामा २२ जना घाइते भएका छन्। घाइतेहरूको सप्तरीका विभिन्न अस्तापलमा उपचार भइरहेको डीएसपी बस्नेतले जानकारी दिए।
प्रहरीले जनाएअनुसार बस आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो। दुर्घटनापछि फरार भएका बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसमा ३५ जना सवार थिए।