नेपाललाई आतंकवादले छोएका दुई ताजा घटना

हिमाल प्रेस १५ वैशाख २०८२ ९:००
206
SHARES
नेपाललाई आतंकवादले छोएका दुई ताजा घटना पर्यटकहरूमाथि अन्धाधुन्ध गोली चलाइएको पहलगामस्थित घटनास्थलको निरीक्षण गर्दै भारतीय सुरक्षा अधिकारीहरू। मंगलबार भएको आक्रमणमा २६ जनाको पर्यटकको ज्यान गएको थियो। तस्बिर : एपी/रासस

काठमाडौँ- भारतको जम्मु-कस्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गयो। पहलगाम उपत्यका घुम्न गएका पर्यटकलाई आतंकवादीले निशाना बनाए। जंगलको बाटो छिरेर पर्यटक भएका स्थानसम्म आएका उनीहरूले अन्धाधुन्ध गोली चलाएका थिए। घटनाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार आतंकवादीहरूले धर्म सोधेर पर्यटकमाथि गोली चलाएका थिए।

अध्ययनका लागि इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशी हमास समूहको अपहरण (अबस्थाबारे जानकारी नै छैन्)मा परेको घटना सेलाउन नपाउँदै भारतको जम्मु-कस्मिर घुम्न गएका अर्का एक नेपालीले ज्यान गुमाएका छन्। यी दुवै घटनाले एक गम्भीर यथार्थ उजागर गरेका छन्- नेपाल अब अन्तर्राष्ट्रिय आतंकवादबाट अछुतो छैन। दुवै घटना विदेशमा रहेका नेपाली पर्यटक, कामदार वा विद्यार्थी निसानामा परिरहेका प्रमाण हुन्।

आतंकवादीहरूले धर्म सोधेर गोली चलाउनुको उद्देश्य थियो- भय फैलाउने र विभाजन गराउने। पर्यटकहरूसँग उनीहरूले हिन्दू हो कि मुस्लिम भनेर प्रश्न गर्दै हिन्दूलाई निसाना बनाए। शान्तिप्रेमी र तटस्थताकाको परिचय बनाएका नेपालीहरू यस्ता वैचारिक संघर्षमा तानिनुलाई चिन्ताको विषयका रूपमा लिइएको छ।

पहलगाम आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै भारतले सिन्धु जल सन्धि निलम्बन गरेको छ। त्यस्तै अटारी-बाघा नाका बन्द गर्ने, पाकिस्तानी नागरिकका लागि भिसामा रोक लगाउने, भारतमा भएका पाकिस्तानीको भिसा रद्द गर्ने, पाकिस्तानी कूटनीतिज्ञहरूलाई निष्कासित गर्नेसहितका निर्णय गरेको छ।

सुदीप न्यौपानको हत्या र विपिन जोशीको अपहरणले नेपालको पुरानो सुरक्षा संरचना, भारतसँगको खुला सिमाना र गुप्तचर क्षमताको कमजोरीलाई उजागर गरेका छन्। त्यस्तै यी घटनाले नेपालको असंलग्न परराष्ट्र नीति र निष्क्रिय सुरक्षा दृष्टिकोणमाथि पनि प्रश्न उठाएका छन्।

आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्दै सम्प्रभुता र तटस्थता कायम राख्ने दृढ नीति नेपालले लिनुपर्ने देखिएको छ। नेपालले आतंकवादलाई मानवताविरुद्धको खतरा भनेर स्पष्ट रूपमा निन्दा गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिन आवश्यक छ।

अन्तर्राष्ट्रिय आतंकवादको प्रभाव रोक्न र उग्रपन्थी घुसपैठबाट जोगिन नेपालले बलियो प्रतिकार रणनीति तर्जुमा गर्न जरूरी छ। त्यस्तै गुप्तचर निकाय, सूचना संकलन, विश्लेषण र तत्काल प्रतिक्रिया दिन सक्ने विशेष आतंकवाद प्रतिकार एकाइ स्थापना गर्नुका साथै सीमामा निगरानी र सुरक्षा प्रणाली बलियो बनाउन आवश्यक देखिएको छ।

पहलगाम आक्रमण र बिपिन जोशीको अपहरण चेतावनीपूर्ण घण्टी हुन्। नेपालले अब निरपेक्ष मौनता अपनाउन सक्दैन। सरकारले ‘टीआरफ’ जस्ता समूह र तिनका समर्थकमाथि प्रतिबन्धका लागि संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय मञ्चहरूमा उभिएर आवाज उठाउनुपर्छ।

भारतका गुप्तचर अधिकारीहरूले पहलगाममा भएको आतंकवादी आक्रमणपछाडि पाकिस्तानका सेना प्रमुख जनरल असीम मुनिरको अभिव्यक्तिले भूमिका खेलेको आशंका गरेका छन्। भारतको अखबार ‘टाइम्स अफ इन्डिया’ का अनुसार पाकिस्तानी सेना प्रमुखको अभिव्यक्तिले पहलगाम घटनामा भूमिका खेलेको हो कि भन्ने विषयमा गुप्तचर अधिकारीहरूले अनुसन्धान थालेका छन्।

मुनिरले आफ्नो सम्बोधनमा कस्मिरलाई पाकिस्तानको ‘जिउँदो नशा’ भनेका थिए। रनको यही अभिव्यक्तिलाई लिएर आतंककारी समूह लस्कर-ए-तैयबाको समूह ‘द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ)’ प्रभावित भएको हुन सक्ने भनेर भारतका गुप्तचर अधिकारीहरूले अनुसन्धान थालेका छन्। पहलगाम आक्रमणको टीआरएफले जिम्मा लिएको छ।

गोप्य रूपमा अनुसन्धानमा संलग्न गुप्तचर अधिकारहरूमध्ये धेरैले पाकिस्तानका सेना प्रमुख मुनिरको उग्र भाषण र मुस्लिम तथा हिन्दूहरूबीचको ‘विभेदपूर्ण व्यवहार’ का विषयमा उनले दिएको जोडले उग्रवादी समूहहरूलाई थप हौसला प्राप्त भएको हुनसक्ने आकनन गरिएको छ।

‘आक्रमणकारीहरू केही दिनअघि नै घटनास्थल पुगेका थिए। स्थानको निरीक्षण गरेका थिए। उपयुक्त मौका पाएपछि आक्रमण गरेको देखिन्छ,’ टाइम्स अफ इन्डियासँग कुरा गर्दै एक स्रोतले भनेको छ। भारतीय निकायले गरेको अनुसन्धानबाट ६ जना आक्रमणकारीले स्थानीय सहयोगीको साथमा योजनाबद्ध आक्रमण गरेको खुलेको छ। जम्मु-कस्मिर प्रहरीले आक्रमणमा संलग्न स्थानीय र पाकिस्तानी आतंकवादीहरूको तस्बिरसमेत सार्वजनिक गरेको छ।

समाचारमा जनाइएअनुसार पर्यटकहरूलाई इस्लाम धर्मको कलमा पढ्न बाध्य पारिएको थियो। कलमा पढ्न नसक्नेहरूलाई आतंकवादीले गोली हानेर हत्या गरेका थिए। पहलगाम आक्रमणको मुख्य योजनाकार लस्कर-ए-तैयबाका कमान्डर सैफुल्लाह कसुरी (खालिद) रहेको बताइएको छ।

के भनेका थिए पाकिस्तानका सेनाध्यक्ष मुनिरले?

पाकिस्तानी सेनापति जनरल मुनिरले पहलगाम घटनापछि इस्लामाबादमा आयोजित ‘ओभरसिज पाकिस्तानिज कन्भेन्सन’ लाई सम्बोधन गरेका थिए। उनको यो सम्बोधनलाई भारतीय गुप्तचर निकायले चिन्ता बढाउने अभिव्यक्तिका रूपमा अथ्र्याएका छन्।

‘तपाईँहरूले आफ्ना सन्तानलाई पाकिस्तानको कथा सुनाउनुपर्छ, ताकि उनीहरूले नबिर्सुनर- हाम्रा पूर्वजहरूले हामीलाई हिन्दूहरूभन्दा जीवनका सबै पाटोमा फरक ठानेका थिए,’ उनले भनेका थिए, ‘हाम्रो धर्म भिन्न छ, हाम्रा चलन भिन्न छन्, परम्पराहरू भिन्न छन्, विचारधारा भिन्न छन्, आकांक्षाहरू भिन्न छन्- यहीँबाट दुई राष्ट्र सिद्धान्तको जग बस्यो। हामी दुई राष्ट्र हौँ, एउटै होइनौँ।’

जनरल मुनिरको अभिव्यक्तिले दक्षिण एसियामा मुस्लिम र हिन्दू धर्मका अनुयायीहरू दुई पृथक राष्ट्र हुन् भन्ने दुई राष्ट्रको सिद्धान्तलाई समर्थन गरेको देखिन्छ। पहलगाम घटनाको केही दिनमै आएको मुनिरको यो अभियव्यक्तिलाई भारतीय अधिकारीहरूले संयोगमात्र नभई संकेतपूर्ण रूपमा लिएका छन्।

प्रकाशित: १५ वैशाख २०८२ ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast