
काठमाडौँ- सांसद छिरिङ ल्हामु लामा (तामाङ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आन्दोलनरत शिक्षक कर्मचारीलाई अपमान नगर्न चेतावनी दिएकी छिन्। संघीय संसद्को आजको बैठकमा बोल्दै सांसद छिरिङले प्रधानमन्त्री ओली शिक्षकका जायज माग पूरा गर्न छोडेर अपमान गर्नतिर लागेको बताएकी हुन्।
संसद् बैठकमा उनले भनिन्,‘प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूप्रति निकै हलका ढंगले अभिव्यक्ति दिनुभएको छ। सत्तामा रहँदा र सत्ता बाहिर हुँदा दिएको अभिव्यक्तिले उहाँको नैतिकतामा प्रश्न उठेको छ। ‘५२ प्रतिशत विद्यार्थी फेल गर्नका लागि शिक्षकलाई किन सुविधा थप्ने अभिव्यक्ति’ दिएर किन शिक्षकमाथि अपमान गर्नुभएको छ। उहाँको कार्यालयको प्रगति २८ प्रतिशत थियो। ७२ प्रतिशत कार्यसम्पादन गर्न नसकेको उहाँको नेतृवलाई के भन्ने? शिक्षकका जायज माग सम्बोधन गर्न छोडेर अपमान नगर्न सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद छिरिङ शिक्षकका छोराछोरी सार्वजनिक विद्यालयमा पढेनन् भन्नेहरूले राज्यको सुविधा लिएका सबैले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउने कुरा किन नउठाएको भन्दै प्रश्न गरिन्। उनले अर्को प्रश्न गरिन्, ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिले शिक्षाको व्यापार गरे नाफा कमाउन किन लागेको? आँट छ भनेर सार्वजनिक पदधारण गर्ने र सरकारी सुविधा लिने व्यक्तिले आफ्ना छोराछोरी सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने कानुन बनाऊ। सार्वजनिक पदधारण गरेका व्यक्ति निजी विद्यालयको लगानीकर्ता हुन नपाइने प्रावधान राखौं।’