
काठमाडौँ- ईरानको दक्षिणी सहर बान्दर अब्बासस्थित शाहिद राजाई बन्दरगाहमा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ५१६ जना घाइते भएका छन्।
ईरानको सरकारी सञ्चारमाध्यमले शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको जनाएको हो।
शाहिद राजाई बन्दरगाह जिल्लामा भएको शक्तिशाली विस्फोटका कारण आसपासका कार्यालयहरूको झ्याल टुट्नुका साथै एक घरको छत भत्किएको थियो।
विस्फोटका कारण भत्किएका भवनका अवशेष मुनि कतिपय मानिस थिचिएको हुनसक्ने आशंका गरिएको छ।
सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएअनुसार ५१६ जना घाइते भएका छन् र सयौँलाई नजिककै स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ।
यसअघि ईरानको सरकारी समाचार संस्था आईआरएनएले देशको आपतकालीन स्वास्थ्य सेवा संगठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४०६ जना घाइते भएको जानकारी दिएको थियो। विस्फोटलगत्तै घटनास्थलमा १५ वटा एम्बुलेन्स र चारवटा एम्बुलेन्स बसहरू तत्कालै परिचालन गरिएको बताइएको छ।
विस्फोट ग्यास ट्यांकीमा भएको जसले गर्दा आकाशमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो।
सम्बन्धित निकायहरूले घटनाबारे अनुसन्धान गरिरहेका छन्। उद्धार तथा राहत टोलीहरू घटनास्थलमा सक्रिय रूपमा कार्यरत छन् भने सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधिहरू हालका लागि स्थगित गरिएको छ।