वर्तमान सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद

हिमाल प्रेस १३ वैशाख २०८२ १७:२९
20
SHARES
वर्तमान सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एनपी साउदले ठूला दुई दलको संयुक्त सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई नभएको बताएका छन्।

कांग्रेसको ओखलढुंगा–काठमाडौँ उपत्यका सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा साउदले यस्तो बताएका हुन्।

‘हामी दुई प्रमुख राजनीतिक पार्टीहरूको सरकार भएको हुनाले असफल बनाएर पठाउँछौँ भन्ने छुट हामीसँग छैन,’ केन्द्रीय सदस्य साउदले भने।

उनले शिक्षक, चिकित्सकहरूको जारी आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए।

अहिले चलिरहेका विभिन्न खालका आन्दोलनहरूले मुलुकको शान्ति, स्थिरता, समृद्धि र व्यवस्था दुश्चक्रमा पर्न सक्ने जोखिम देखिएको उनको भनाइ थियो।

‘त्यसकारण यी सबै कुराका बारेमा पार्टीका साथीहरुले सजग, सचेत भएर बोल्नुपर्ने, रहनुपर्ने आवश्यकता देखिएको छ,’ साउदले भने।

उनले दुई दल मिलेर सरकार बनिसकेपछि मुलुकले स्थिरता पाउने अपेक्षा गरिए पनि पूरा हुन नसकेको पनि बताए। ‘दुई सबैभन्दा ठूला पार्टीको सरकार बनिसकेपछि अस्थिरता समाप्त होला भनेर अपेक्षा गरिएको थियो,’ साउदले भने, ‘सरकार गठन भइसकेपछि पनि अस्थिरताको चक्र रोकिएको छैन।’

पूर्वपरराष्ट्रमन्त्री साउदले पार्टीका नेताहरू सबैले आफ्नो जिम्मेवारी पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने पनि बताए। आफूले पाएको जिम्मेवारी पूरा गरे आगामी महाधिवेशनले थप र नयाँ जिम्मेवारी पाउन कुनै समस्या नहुने उनको आशय थियो।

‘हाम्रा सबै साथीहरु आफूले लिएको जिम्मेवारी पूरा गर्ने कुरामा ज्यादा केन्द्रित हौँ। नयाँ जिम्मेवारीका लागि त छँदैछ,’ साउदले भने, ‘पाएको जिम्मेवारी अहिले राम्रोसँग पूरा गर्ने हो भने देशभरी छरिएर बसेका साथीहरुले यो मान्छेको परफरमेन्स राम्रो छ, यो मान्छेलाई थप र नयाँ जिम्मेवारी दिनुपर्छ भनेर भनिहाल्छन् नि। त्यसकारण अहिलेको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नुपर्ने अवस्था मैले देखेको छु।’

प्रकाशित: १३ वैशाख २०८२ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast