नियात्रा

हिमाली गाउँमा मिलेको शान्ति र अधुरो रुबी भ्याली

राजाराम बर्तौला १३ वैशाख २०८२ १७:४८
26
SHARES
हिमाली गाउँमा मिलेको शान्ति र अधुरो रुबी भ्याली

२०८२ को नयाँको पहिलो साता बंगालको खाडीबाट आउने जलवाष्पयुक्त वायु प्रणालीले नेपालमा पानी पार्दै थियो। मौसम विभागको भविष्यवाणी तीन दिन जति पानी परेर प्रणाली बाहिरिने भन्ने थियो। सोही आधारम हामीले वैशाख ४ गतेबाट हिमाली गाउँतर्फ उक्लने कार्यक्रम बनायौँ।

हिउँद सकिए पनि पानी पार्ने प्रणाली सक्रिय हुँदा नेपालमा प्रिमनसुन वर्षा गराउँछ। यसरी वर्षा हुँदा उच्च पहाडी भेगमा धेरै हिमपातको सम्भावना रहन्छ। अनपेक्षित रूपमा हुने हिमपातका लागि पदयात्रीले तयारी गरेर हिँडेको हुँदैन। बाटोमा अड्किने, बाटो बिराउने जस्ता समस्याका कारण ज्यान जोखिममा पर्ने सम्भावना हुने हुँदा हामी सतर्क भएका हौँ।

हिँड्ने भनेर तयारी गरिसकेपछि फेरि अनायासै अरबको खाडीबाट आउने पश्चिमी वायु प्रणाली सक्रिय भएर तीन दिन पार्ने भन्ने जानकारी आयो। साथै हिमाली भेकमा भारी हिमपातको सम्भावना पनि दर्शाइएको थियो। अब रोकिनु कि अगाडि बढ्नु दोधारमा पर्दै गर्दा साथी नारायण खड्का भने जे पर्ला सो टर्ला भन्दै हिँड्ने निर्णयमा पुग्यो।
पाँचदिने हिमाली पदयात्रा भएको हुँदा साथी पाउन पनि कठिन थियो। बल्लतल्ल स्कुले सहपाठी नारायण हिँड्न तयार भएको थियो। १० गते फर्केर नआई नहुने छ। उसको सर्त पनि त्यही थियो।

रुबी भ्यालीको यात्रा भनेपछि ऊ पनि जोस्सिएको थियो। रुबी भ्याली जाने धेरै समयको इच्छा वास्तविकतामा परिणत हुँदै थियो। झरीले भाँजो नहालोस् भन्ने मात्र कामना गरिएको थियो।

रुबी भ्याली धादिङको सिमान्तकृत उत्तरी गाउँ हो। केही वर्षअघिसम्म यहाँ कुनै सडक सञ्जाल पुगेको थिएन। अहिले सामान्य सवारीसाधन चल्ने गरी सडक सञ्जाल पुगेपछि यो ठाउँको आकर्षण अझै चुलिएको छ। बहुमूल्य पत्थर रुबी पाइने भएर यसको नाम रुबी भ्याली भएको हो।

पाँचवटा गाउँ छ रुबी भ्यालीभित्र। प्राकृतिक सुन्दरताको त बखान नगरेकै बेस। यसलाई त आँखाले हेरेर, मनले छोएर, माटोको स्पर्श गरेपछि भावनाले अनुप्राणित भएर अनुभूत गर्न सकिन्छ।

नयाँ वर्ष बनाउने मनोकांक्षामा पदयात्रालाई रोजियो र योजना बनाइयो रसुवाको गत्लाङ जाने। त्यहाँबाट पार्वतीकुण्डको दर्शन गर्दै उच्च हिमाली पदयात्रा गर्ने। बीचमा पर्ने दुईवटा ठुल्ठूला हिमाली भन्ज्याङ ३,७२५ मिटर अग्लो खार्पु भन्ज्याङ र ३,८४० मिटर अग्लो पाङसाङ पास काटेर धादिङको रुबी भ्याली पुग्ने। रुबी भ्यालीको लाब्दुङ, तिप्लिङ, बोराङ घुमेर काठमाडौँ फर्कने।

रुबी भ्याली धादिङबेसीबाट गए पनि पुगिन्छ र रसुवाको स्याफु्रबेसी हुँदै गए पनि हुन्छ।

रसुवा भएर दुईवटा अग्ला भन्ज्याङ पार गरेर जानुपर्छ। पदयात्राको विशिष्ट आनन्द पनि लिन पाइने विचारले रसुवाको बाटो रोज्यौँ। वैशाख ४ गते काठमाडौँबाट रसुवाको गत्लाङ हुँदै रबी भ्यालीको यात्रामा निक्लियौँ।

ठाउँको नाम पनि चिनारीका हिसाबले स्थानीयताको विशेषतासँग गाँसिएको हुन्छ। जसरी रुबी पाइने भएर रुबी भ्याली नामकरण भयो त्यसैगरी तामाङ भाषामा ‘र’ भनेको भेडा र ‘सेवा’ भनेको चराउने ठाउँ हुन्छ। अतः भेडा चराउने ठाउँ भएको हुँदा रसुवा भएको हो। हाम्रो यात्राको प्रयोजन उच्च पहाडी भागमा पाइने भेडाबाख्रा, चौँरीगाई र स्थानीय जनजीवन अवलोकन थियो। साथै पार्वतीकुण्डको दर्शन।

रसुवामा मात्र १०९ भन्दा बढी धार्मिक कुण्ड छन् भनेर भनिन्छ। हामीले पदयात्राका क्रममा गोसाईँकुण्ड र यसको वरिपरि भएको एकदुई कुण्ड, पाँचपोखरी र यसको नजिक भएका केही कुण्डहरूको दर्शन गरिसकेका थियौँ। यो भ्रमणमा पर्वतीकुण्ड दर्शन गर्नेमा परेको थियो।

बालाजुको माछापोखरीबाट गत्लाङका लागि बस लाग्छ। दिनमा एउटा मात्र बस छुट्छ। उताबाट आउने एउटा र यताबाट जाने एउटा बस। गत्लाङबासीले पाउने यातायात सुविधा भनेको यही एउटा बसको यात्रा हो। बिहान ६ बजे छुटेको बस बीचबीचमा यात्रु टिप्दै र ओराल्दै हिँड्दा साँझ ६ बजे मात्र पुग्दो रहेछ। सडकको दुरी भनेको त्यस्तै १३० किलोमिटर जति होला।

त्रिभुवन राजपथमा बाह्रघुम्ती र सातघुम्ती देखिएको थियो। यहाँ पनि रहेछ। धुन्चेबाट उत्तर लागेपछि पहिला आउँछ बाह्रघुम्ती। रमाइलो देखिन्छ नागबेली परेको यी घुम्ती। यिनै घुम्ती पार गर्दै हामी पुग्यौँ स्याफ्रुबेसी।

स्याफ्रुबेसीबाट नेपाल-चीन सीमातर्फ उत्तर लागेपछि केही किलोमिटर दुरीमा आइपुग्छ रुंगा। यहाँबाट एउटा बाटो टिमुरेतर्फ लाग्छ भने अर्को एउटा कच्ची बाटो उत्तरपश्चिम लाग्छ। सात घुम्तीको उकालो चढ्दै कच्ची र खाल्टाखुल्टी सडकमा घच्चमघच्चा गर्दै बस पुग्छ गत्लाङ।

गत्लाङ तामाङ बस्ती हो। यहाँ भेषभूषा, संस्कार, संगीत, खानपिन, रहनसहन, आवास, चित्रकला, वास्तुकलामा तामाङ संस्कृतिको जीवन्त चिनारी पाइन्छ। चारैतिर उच्च हिमाली पहाडको बीचमा भिरालो जमिनमा बसेको यो गाउँ बिहान उत्तरपूर्वमा रहेको लाङटाङ हिमाललाई छोएर आउने सूर्यको प्रकाशमा नुहाएर उठ्छ। उत्तरपश्चिमको गणेश हिमाल देखिँदैन तर दुई पहाडको चेपबाट टलक्क टल्केर मुस्कुराउँछ सान्जेन हिमाल। यहीँको हिउँ पग्लिएर र पहाड रसाएर बग्छ गत्लाङ खोला। फेदीमा छ चिलिमे र सान्जेन बिजुली घर।

हामी यही चिलिमे विद्युत्गृह हुँदै उकालो लागेका थियौँ गत्लाङ पुग्न। गत्लाङ २३०० मिटर उचाइमा अवस्थित छ। एकआपसमा मिलेर बनेका ढुंगाका घर गुजुमुज्ज परेको देखिन्छ। सबै घर फल्याकले छाइएका भए पनि २०७२ को महाभूकम्पपछि छानामा जस्तापाताको प्रयोग धेरै देखिन्छ। गाउँको मौलिकतामा कताकता छेडखान गरेको अनुभूति हुन्छ नयाँ विकासे प्रवेशले।

आखिर गत्लाङ पनि यही समाजको अंग हो र आधुनिक विकासको हावाले नछुने भन्ने त कुरै भएन। यहाँ सडकसँगै, बिजुली, इन्टरनेट, टेलिफोनसहित सबै सुविधा पुगेका छन्। आलुखेतीले यहाँको आयस्तर बढाएको छ।

पुरानो गत्लाङ फेरिँदै छ नयाँ कलेवरमा। पर्यटनका लागि आकर्षणका केन्द्र पनि बन्दै छ गत्लाङ।

गत्लाङबाट उकालो चढेपछि २,५५० मिटरको उचाइमा छ प्रसिद्ध पार्वतीकुण्ड। यसको स्थानीय नाम ‘छोदिङमो’ हो। २०४० सालमा यसलाई पार्वतीकुण्ड भनेर नामकरण गरिएको रहेछ। यो पवित्र कुण्ड दर्शनका लागि हिन्दू धर्मावलम्बी मात्र नभएर स्थानीय बौद्ध सम्प्रदायसमेत पुग्छन्। यहाँ साउन पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन भव्य रूपमा ठूलो मेला लाग्छ।

हिन्दू, बौद्ध, बोनसहितका सबै धर्मका अनुयायीले उत्साहका साथ मेला भर्छन्। श्रद्धालुहरु यो कुण्डमा दूध चढाएर आफ्नो भक्ति भावना दर्शाउँछन्। यो एउटा धार्मिक महत्त्व बोकेको हिमाली सिमसार क्षेत्र हो। यो पोखरीमा बोझो रहेको छ। स्थानीय मान्यताअनुसार यहाँको बोझो निकाल्न हुँदैन। यहाँ नेपाली सेनाले मन्दिर निर्माण गरेको छ। पार्वतीकुण्डमा पूजा गर्नाले चिताएको कुरा पूरा हुन्छ भन्ने विश्वास छ।

६ बजे गत्लाङ पुग्दा केही उज्यालो बाँकी थियो। भोलिपल्ट पार्वतीकुण्डमा गएर बास बस्ने विचार आयो। हामी उकालो लाग्यौँ। बास बस्ने भनेर पुगेको ठाउँ स्थानीय कलाकारले भरिभराउ रहेछ। हाम्रो मर्का बुझेर होला कलाकारहरुले एउटा कोठा छोडिदिए। हाम्रो गुजारा चल्यो। भोलिपल्ट बिहान पार्वतीकुण्डको दर्शन गरेर उकालो लाग्यौँ।

स्थानीय कलाकार गीति भिडियो निर्माणका लागि आएका रहेछन्। चार दिन लाग्छ छायांकन सकिन भन्दै थिए। सबै क्रु मेम्बरसहित बसेका यिनीहरुको खर्च ठूलै देखिन्थ्यो। भिडियो युट्युबमा राखेर लाखौँ भ्युज आएपछि खर्च उठ्छ भन्दै थिए। प्रविधिले ल्याएको परिवर्तनसँग आत्मसात् गर्दै थिए यहाँका युवा।

अबका युवा बारीको माटोसँग भन्दा मोबाइल वा भिडियो क्यामेरासँग अभ्यस्त हुन रुचि राख्दैछन्। अब के होला त खर्कमा राख्ने चौँरीगोठको कथा। केही वर्षपछि गोठाला पाइएलान् त? प्रश्न अनुत्तरित छन्। समयले यसको उत्तर खोज्ने नै छ। यस्तै हुन्छ हामी नेपालीलाई कहिले पूर्वी हावा र कहिले पश्चिमी हावाले प्रभाव पारिरहेको हुन्छ। पृथ्वीको गोलचक्करमा बसेपछि भूमण्डलको सतहमा बग्ने हावा होस् कि पानी त्यसको बाछिटा हामीमा नपर्ने भन्ने हुँदैन।

घरबाट हिँड्दा हिमालमा हिउँ पर्ला, चिसोले सताउला भनेर बर्सादी र डाउन ज्याकेट झोलामा कोचेको थिएँ। ओडारमा बास पर्ला र खान नपाई मर्ला भनेर एक केजी जति चिउराको पोको, दालमोठ, म्युस्ली पनि श्रीमतीज्यूले राखिदिएकी थिइन्। अनपेक्षित आशंका शमन गर्न चाहिने नचाहिने चिजबीज राख्दै गर्दा झोला १० केजीभन्दा पनि बढी भयो। झिकेर अलि हलुंगो बनाउन भनेर खोजेको सकिएन।

सबै चिजको आफ्नै आवश्यकता र महत्त्व हुने रहेछ। एउटा झिक्दा अर्को थपिने। आपत्कालीन उपचारका लागि केही औषधि राख्नैपर्‍यो। तातोपानी र चिसोपानीका लागि तुम्लेट चाहियो नै। यसोउसो गर्दा भारीको तौल बढ्ने नै भयो। भरिया पाएसम्म भरियालाई बोकाउन पर्ला भनेर योजना सुनाएको के थिएँ– श्रीमतीज्यूले ओड्ने लुगा, तौलिया, स्यानिटाइजर, चकलेटसमेत राख्न भ्याइछन्। ल त जे पर्ला भनेर ब्याकप्याक सम्हालियो।

पार्वतीकुण्डमा भरिया पाइएला भन्ने आशा निराशामा परिणत भयो। अब ‘आफ्नो भारी आफ्नै काँध’ भयो। बाह/तेह्र  केजीको झोला बोकेर उकालो चढ्न सुरु गरियो।

झन्डै दुई घण्टा हिँडेपछि गुराँसे जंगलको बीचमा थकाई मार्न बसेका थियौँ। तीनजना गोठाला प्लास्टिकको जर्किनमा चौरीको दूध बोकेर दूध संकलन केन्द्रतर्फ जाँदै गरेका भेट्यौैँ। उनीहरूले नै सोधे, ‘टाढैको यात्रा जस्तो छ, भरिया चाहिन्छ कि?’ ‘किन नचाहिनु नि, चाहिन्छ। तल पार्वतीकुण्डमा नपाएर पो त आफैँले बोकेको,’ हामीले भन्यौँ। फतक्कै गलेको काँधले राहत पायो। बल्ल प्राकृतिक दृश्यको सौन्दर्यपानमा ध्यान गयो।

हामी जंगलको बीचबाट हिँड्दै थियौँ। चराको चीरबीरले मने आनन्दित हुन्छ। धेरै किसिमका चराको आवाज सुनियो। कुन चराको आवाज हो भनेर छुट्टयाउन भने सकिएन। कर्णप्रिय ती आवाजबाट आनन्दित भने भइयो। जंगलमा हाब्रे (रेडपान्डा) पनि देखिन्छ भन्थे। हामीले त्यो दुर्लभ जनावर देख्न सकेनौँ।

पहाडको शिरतर्फ उक्लदै गर्दा केही समथर जमिन फेला परेको ठाउँमा गाईगोठ भेटिन्छन्। गाई राख्ने यस्तो ठाउँलाई खर्क भनिन्छ। चौँरीगाईलाई गोठमा राखिँदैन। यिनीहरू चौरमा छोडिएका हुन्छन्। गाईको घाँटीमा घण्टी बाँधिएको हुन्छ। तिनीहरू कहाँ चरिरहेका छन् भनेर गोठालाले थाहा पाउने यही घण्टीको आवाजले हो। गोठालाले चरिरहेका ठाउँमा गएर दूध दुहुन्छन्। एउटा चौँरीगाईले एक लिटर जति दूध दिने रहेछ।

चौरीँगाई यहाँका तामाङको ठूलो सम्पत्ति र आम्दानीको स्रोत पनि। स्थानीयले छुर्पी बनाएर बेच्छन्। चीजचाहिँ औद्योगिक उत्पादनका रूपमा तयार गरेर बजारमा पठाइन्छ।
जंगलको केही खण्ड हिँडिसकेपछि खर्क पुग्दा जुन दृश्य देखियो त्यसले हामीलाई उदास बनायो। सयौँ हेक्टरमा रहेको पुराना रूख सबै डढेलोले खाएर ढल्न नसकेर ठिंग उभिएका थिए। ‘ब्ल्याक फरेस्ट’ रे यसको नाम। केही वर्षअघि ठूलो आगलागी भएर जंगल नासिएको रे। हजारौँ रूख लडेका छन् र त्यति लड्न नसकेर खडा छन्।

कति कीटपतंग, सरिसृप, जीव आगोले खाए होलान्? अनुमान मात्र गर्न सकिन्छ। यही ब्ल्याक फरेस्टमा छन् खर्कहरू जहाँ चौरीँगोठ राखिएका छन्। वसन्त ऋतु आगमनसँगै हिउँदको चिसो घट्दै जाँदा तलबाट गोठ माथिमाथि सर्दै जान्छ। जतिजति गर्मी बढ्दै जान्छ गोठ हिमालको फेदीतिर सर्दै जान्छ। चौँरीको दूध संकलनका लागि राखिएका संकलन केन्द्र पनि माथिमाथि सारिँदो रहेछ।

स्याफ्रु-सोमदाङ सडक परियोजनाले सडक बनाएको रहेछ। पैदल यात्रासँगै फन्को मार्दै घुमेर आक्कलझुक्कल सडक पनि भेटियो। गत्लाङबाट यदाकदा फोरह्विल सवारी सोमदाङसम्म जाने रहेछ। मोटरसाइकल भने बढी नै हिँड्ने रहेछ।

थरीथरीका रंगीन गुराँससँग रमाउँदै जाँदा अग्ला रूख सकिएर बुट्यान देखा परे। उकालो कहिले सकिएला भन्दाभन्दै भन्ज्याङ भेटियो। यो खार्पु भन्ज्याङ ३,७२५ मिटर उचाइमा छ।

भन्ज्याङमा भारी बिसाउने, थकाइ मार्ने र ओत लाग्ने ठाउँ बनाइएको छ। देउरालीमा ढुंगा चढाउने हाम्रो परम्परा हो। परम्परा धान्दै हामी त्यहाँ केहीबेर बस्यौँ र चिसो हावाको आनन्द लियौँ। यहाँबाट दुई घन्टा ओरालो झरेपछि सोमदाङ पुगिन्छ। सोमदाङ ३२७० मिटर उचाइमा रहेको खर्क हो।

सोमदाङ गाउँलाई सोमदाङ खोलामाथि बनेको पुलले जोडेको छ। यही खोला धादिङ र रसुवाको सीमा हो- पूर्वतिर रसुवा र पश्चिमपट्टि धादिङ। यहाँ बसेको काठले छाएको ढुंगाबाट बनेका ससाना आकारका घर अस्थायी प्रकृतिका गोठ राख्न बनाइएका हुन्।

यहाँबाट अर्को यात्रा भनेको धादिङमा पर्ने पाङसाङ पास ३,८४० मिटर पार गरेर लाब्दुङ, तिप्लिङ हुँदै बोराङबाट टाटा सुमो चढेर काठमाडौँ फर्कने योजना थियो। हामी सामदोङमा बास बसेको दिन रातभरि पानी पर्‍यो। बिहान उठेर हेर्दा वरिपरिका डाँडा सेताम्मे थिए। हामीसँग दुईटा विकल्प बाँकी थिए- दुईचार दिन सामदोङमा बसेर हिउँ पग्लेपछि पाङसाङ पास हुँदै रुबी भ्याली जाने वा फिर्ता हुने, जुन बाटो आएको हो सोही बाटो फर्कने।

पहिलो विकल्पमा निश्चित थिएन र खर्चपर्चको कुरा पनि थियो। त्यसैले हामीले दोस्रो विकल्प रोज्यौँ र जुन बाटो गएको हो त्यही बाटो फिर्ता भयौँ। यस पटक भने दिनभर रुझेर हिँड्नुपर्‍यो। यस पटकको यात्रामा रुबी भ्याली हेर्ने साइत जुरेन। फेरि अर्को कुनै दिन…। हिमाली सौन्दर्यको रुमानी सम्झना सँगालेर फिर्ता आइयो। लाङटाङ हिमालको सौन्दर्य भने अघाउने गरी हेरियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast