
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सातबुँदे कार्यान्वयन गर्न कांग्रेस–एमालेलाई दबाब दिनुपर्ने बताएका छन्।
स्याङ्जा पत्रकार समाज नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकार कहिले ढल्छ होइन, सातबुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न नेताहरुलाई गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे।
इतिहासमा अहिलेसम्मकै बलियो सरकार अहिलेको सरकार भएको हुँदा सरकार ढल्ने परिकल्पना पनि गर्न सकिने उनले बताए।
उनले देशलाई स्थायित्व प्रदान गर्न अहिलेको सरकार बनेको भन्दै जनताको पक्षमा काम नगर्ने छुट यो सरकारलाई नभएको धारणा राखे।
उपसभापति गुरुङले विद्यालय शिक्षा ऐनलाई छिटो अघि बढाउन संसदीय समितिले तत्परताका साथ काम गरिरहेको भन्दै शिक्षकहरुले पनि आन्दोलन रोकेर उचित बातावरण बनाउनुपर्ने बताए। देशको समग्र शिक्षा क्षेत्र मिलाउन कानुन बनाउँदा सबैको राय समेटेर बनाउनुपर्ने भएकाले शिक्षा ऐन आउन अलि ढिला भएको उनले बताए।
त्यस्तै गुरुङले राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनको कुनै औचित्य नरहेको जिकिर गरे। उनले स्याङ्जाको लाइफलाइनको रुपमा रहेको सिद्धार्थ राजमार्ग अबको निति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसका लागि बजेटसमेत विनियोजन हुने प्रतिवद्धता जनाए।