तीर्थराम डंगोल : काठमाडौँका उपमेयरदेखि दोस्रो जनआन्दोलनका नेतृत्वकर्तासम्म

हिमाल प्रेस १३ वैशाख २०८२ १०:३६
86
SHARES
तीर्थराम डंगोल : काठमाडौँका उपमेयरदेखि दोस्रो जनआन्दोलनका नेतृत्वकर्तासम्म

काठमाडौँ- नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँका पूर्वसभापति एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ।

उनी लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित थिए। नेपाल विद्यार्थी संघका संस्थापक सदस्य डंगोल आजीवन राजनीतिमा संलग्न भएका व्यक्तित्व हुन्।

उनी २०४३ मा काठमाडौँ नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए। २०५६ को आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नं. ७ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका डंगोल २०६४ मा संविधानसभाको सदस्य थिए।

उनले निरंकुश राजतन्त्र अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ का बेला उनी नेपाली कांग्रेस काठमाडौँ जिल्लाका सभापति थिए। सभापतिका हैसियतले काठमाडौँबाट उनले जनआन्दोलनको नेतृत्व गरेका थिए। नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरुका क्रममा उनले पटकपटक जेलजीवनसमेत बिताएका थिए।

वि.सं. २००४ साल माघमा जन्मिभएका डंगोलले ‘काठमाडौँ कांग्रेस र तीर्थराम’ नामक पुस्तक लेखेका छन्। उनी र धर्मपत्नीको नाममा ‘तेज–तीर्थ ट्रस्ट’ सञ्चालनमा छ। सो ट्रस्टले हरेक वर्ष ३ वटा विधाहरु- ‘पत्रिका’, ‘मानव अधिकार र लोकतन्त्र’ र ‘नेपाल भाषा साहित्य’ मा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई एकएक लाखको पुरस्कार प्रदान र सम्मान गर्दै आएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डंगोलको निधनबाट नेपाली कांग्रेसले कुशल संगठनकर्ता, अग्रज र एक अनुभवी राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेका छन्।

देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौँका पूर्व सभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र शालीन व्यक्तित्व तीर्थराम डंगोलको निधनको खबरले मलाई अत्यन्त दुःखी र मर्माहत बनाएको छ। स्वर्गीय डंगोलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ।’

डंगोलको पार्थिव शरीरलाई शनिबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिनेछ। अपराह्न २ बजे काठमाडौँको टेकु दोभानमा दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०८२ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast