पोखरामा साढे एक अर्ब बराबरको खानेपानी योजना सञ्चालन हुने

हिमाल प्रेस १२ वैशाख २०८२ २०:५८
10
SHARES
पोखरामा साढे एक अर्ब बराबरको खानेपानी योजना सञ्चालन हुने

पोखरा– पोखराको काँहुडाँडा, कृस्ति, भरतपोखरी, निर्मलपोखरी र मट्टीखानलगायतका वासिन्दालाई स्वच्छ पिउनेपानी उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

पोखरा–२१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा २१ र जलवायु अनुकूलित आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना पोखरा ११ को निर्माण, सञ्चालन र कार्यान्वयन सम्बन्धमा त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो।

महानगर प्रमुख धनराज आचार्य र सिनियर डिभिजनल इन्जिनियर कुलप्रसाद पौडेललगायतको रोहबरमा भएको समझदारीपत्रमा नेपाल सरकारतर्फबाट संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका कामु आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र खानेपानी उपभोक्ता समितिका तिनै जना अध्यक्षहरूले हस्ताक्षर गरेका छन्।

बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको जनाइएको छ।

यस्तै, काँहुधरहरा खानेपानी आयोजनाका लागि कुल ४९ करोड १७ लाख १७ हजारमध्ये २१ करोड ६ लाख २४ हजार र मट्टीखान खानेपानी आयोजनाको कुल २८ करोड ५४ लाख ६५ हजारमध्ये १९ करोड ७६ लाख रुपैयाँको अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ।

समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आवमा पोखरा महानगरपालिकाले त्यसको १० प्रतिशत रकम व्यहोर्ने छ। तीनवटै परियोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान छ। परियोजनाको कुल लागतको ९० प्रतिशत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बेहोर्ने छ।

बृहत् भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी संकलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किमी पाइपमार्फत उपोक्ताहरुको घरघरमा पानी पु¥याइने छ। यस आयोजनाबाट करिब २४ सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताए।

यो आयोजनामा २००, १००, ७५, ५० र २० घनमिटरका ११ वटा पानी ट्याङ्कीहरू निर्माण हुनेछन्।

काँहु धरहरा खानेपानी आयोजनाअन्तर्गत काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइपलाइन मार्फत उपभोक्ताको घरघरमा पानी पु¥याइने छ। करिब १५ सय घरधुरी लाभान्वित हुने यो आयोजनाअन्तर्गत ३ सय घनमिटर र १ सय घनमिटरका २ ट्यांकीहरू निर्माण गरिनेछ।

मट्टीखान खानेपानी योजनाअन्तर्गत सेतीखोलाबाट शम्पवेलमार्फत पानी पम्पिङ गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी संकलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ।

३५ किमी पानीको पाइपलाइन विस्तार हुनेछ। विभिन्न स्थानमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्यांकीमार्फत आयोजनाले १२ सय घरधुरीलाई पानी वितरण गर्नेछ।

चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २०८१ फागुन ८ गते सार्वजनिक टेन्डर समेत आह्वान गरिसकेको छ। आयोजनाको पोखरा कार्यालय प्रमुख कार्यान्वयन इकाइ रहेको यी आयोजना सम्पन्न भएपछि ५ हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। आयोजना कार्यान्वयन भएको मितिले ३० महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यी आयोजनामा एक घर एक धाराको अवधारणामा सञ्चालन हुनेछन्।

महानगर प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई आधारभूत खानेपानीको उपलब्धताका लागि आफूहरू क्रियाशील रहेको बताए। नगर क्षेत्रमा संघ, प्रदेश र महानगरस्तरीय विभिन्न आयोजनाहरू सञ्चालन गरी उपभोक्ताहरूलाई स्वच्छ र सफा पिउने पानीको व्यवस्था गर्न आफूहरू निरन्तर लागिरहेको उनको भनाइ छ।

प्रकाशित: १२ वैशाख २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast