शिक्षकसँग सरकारको वार्ता प्रयास असफल, के भयो महासंघको आन्तरिक छलफलमा?

हिमाल प्रेस १२ वैशाख २०८२ १७:३६
782
SHARES
शिक्षकसँग सरकारको वार्ता प्रयास असफल, के भयो महासंघको आन्तरिक छलफलमा?

काठमाडौँ- आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता प्रयास असफल भएको छ। वार्ता प्रयास असफल भएपछि शिक्षकहरू आन्तरिक छलफलमा जुटेका छन्। छलफलमा शनिबार बिहान वार्तामा बस्ने निर्णय भएको नेपाल शिक्षक संघका राष्ट्रिय अध्यक्ष सोमनाथ गिरीले बताए।

शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै २४ दिनदेखि राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। वार्ताका लागि डाके पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले कुनै तयारी नगरेको दाबी शिक्षक नेताहरूको छ। सोही कारण वार्ताका लागि पुगेका शिक्षक महासंघका पदाधिकारीहरू शुक्रबार मन्त्रालयको गेटमा पुगेर फर्किएका थिए।

मन्त्रालयले छलफलका लागि नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई शुक्रबार सिंहदरबार बोलाएको थियो। केही शिक्षक मन्त्रालय पुगिसकेका थिए। महासंघले शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि जाने क्रममा रहे पनि विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

यसैगरी वार्ताका लागि शिक्षा मन्त्रालयले नै शिक्षकहरुको टोली बनाएको भन्दै नेपाल शिक्षक महासंघ उपस्थित नभएपछि शिक्षकसँग वार्ता गर्ने सरकारको प्रयास असफल भएको बताइएको छ। यसबारेमा सरकारका तर्फबाट गल्ती भएको स्वीकार गरेपछि महासंघ शनिबार बिहान वार्तामा बस्न तयार भएको हो।

मन्त्रालयले शुक्रबार अपराह्न २५ जना शिक्षक प्रतिनिधिहरूका लागि सिंहदरबार गेटपास उपलब्ध गराइदिन आग्रह गर्दै सिंहदरबास्थित प्रहरी गणलाई पत्र पठाएको थियो। शिक्षक प्रतिनिधिहरूका अनुसार आफूहरूले गेटपासका लागि पेस गरेको नामावलीलाई मन्त्रालयले वार्ताटोली बनाएपछि नेतृत्व आक्रोशित बनेको हो।

शिक्षामन्त्री पन्तले शिक्षकहरूबाटै प्राप्त नामका आधारमा प्रतिनिधिहरुलाई सिंहदरबार बोलाइएको भन्दै त्यसमा आपत्ति भए वार्ता टोली गठन गर्न महासंघलाई आग्रह गरेका छन्। शिक्षक महासंघले बनाउने आधिकारिक वार्ता टोलीसँग वार्ता गरी समस्या समाधान गर्न तयार रहेको मन्त्री पन्तले बताए।

मन्त्रालय पुगेका राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुदकुमार सिंहले सिंहदरबार गेटमा मन्त्रालयले पठाएका २५ शिक्षकको नाम देखेपछि महासंघका अध्यक्षलगायतको टोली फर्किएको जानकारी दिए।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ निरन्तर आन्दोलन गरिरहेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार २४ औँ पनि बिजुलीबजार क्षेत्रमा आन्दोलन जारी राखेका हुन्।

आन्तरिक छलफलमा शिक्षक संघसंगठनबीच चर्काचर्की परेको एक सहभागीले बताए। उनका अनुसार एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन जसरी पनि विद्यालय फर्कनुपर्ने दबाबमा छ।

यसैगरी नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ र माओवादी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन तत्काल विद्यालय नफर्कन पक्षमा रहेको ती सहभागीको दाबी छ।

बबरमहलस्थित नेपाल निजामती कर्मचारी युनियनको कार्यालयमा शुक्रबार भएको छलफलमा शनिबार बिहान सडक आन्दोलनभन्दा अगाडि नै वार्तामा बस्ने तयारी भएको गिरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast