
काठमाडौँ– शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने प्रवृत्ति अन्त्य गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्नेक्रममा सांसदहरुले विकासको आवश्यकता र नागरिकको चाहना पहिचान गरी कुशलतापूर्वक बजेट विनियोजन गरिनुपर्ने बताएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले मन्त्रीहरूले आफ्नै क्षेत्रमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए। आफ्नो क्षेत्रलाई केन्द्रित गरेर बजेट विनियोजन गर्ने परिपाटीका कारण समग्र मुलुकको विकासले गति लिन नसकेको उनको भनाइ छ।
नेता यादवले आफ्नै क्षेत्रमा बजेट लग्ने भए त्यस्ता मन्त्रीहरू स्थानीय तहको निर्वाचनमा जितेर पालिकाको नेतृत्व गर्नुपर्ने बताए।
‘मन्त्रीज्यूहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट लग्ने परिपाटी अन्त्य गरौँ। आफ्नै क्षेत्रमा मात्रै बजेट लग्ने हो भने नगरपालिकाको चुनाव लडेर मेयर बने भइहाल्यो नि,’ यादवले भने।
चालु अधिवेशनबाट अत्यावश्यक विधेयकहरु पास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनले भने, ‘चालु अधिवेशनले समस्या समाधान गरोस्। आशा पलाउने गरी र आवश्यकताको आधारमा बजेट आओस्।’
जनमत पार्टीका सांसद अब्दुल खानले जनताले भोगिरहेका समस्याप्रति लक्षित गरेर बजेट निर्माण गर्न आवश्यक रहेको बताए। उनले सकेसम्म देशभित्रकै कच्चापदार्थलाई प्रयोग गरी अर्थतन्त्रलाई अगाडि बढाउने नीति ल्याउनुपर्नेमा जोड दिए।
सांसद सर्वेन्द्रनाथ शुक्लाले अर्थतन्त्र शिथिल हुँदै गएको विषम परिस्थितिमा आउने आगामी आर्थिक वर्षको बजेट अघिल्ला वर्षहरुभन्दा फरक हुनुपर्ने बताए।
राजस्व संकलन घटेको, तस्करी बढेकोलगायतका विषयहरु उनले संसदमा उठाए। यसवर्ष किसानले मलको समस्या भोग्नु नपरोस् भनेर सरकारलाई सतर्कता अपनाउन उनले सुझाव दिए।
सांसद गंगाराम चौधरी डगौराले शक्ति र पहुँचका आधारमा बजेट बाँड्ने प्रवृत्ति रोकिनुपर्ने बताए।
‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित नहोस्। पहुँचका आधारमा बजेट नबाँडियोस्। आफ्ना कार्यकर्ता पोस्ने बजेट नआओस्,’ उनले भने, ‘उत्पीडनमा परेका समुदायलाई केन्द्रमा राखेर बेराजगारी घटाउने गरी बजेट आओस्। बजेटमाथि नीतिगत निगरानी गर्न आवश्यक रहेको पनि उनले बताए।
बजेट तर्जुमा, स्वीकृती, कार्यान्वयन, मूल्यांकनलगायतका प्रक्रियालाई गम्भीर रुपमा हेरिनुपर्ने सांसद चौधरीको भनाइ छ।
सांसद अमरेशकुमार सिंहले चुनाव जित्नका लागि राजनीतिक दल र तिनका नेताहरुले व्यवसायीहरुसँग रकम उठाउने गरेको र सरकारमा गएपछि उनीहरुलाई फाइदा हुनेगरी निर्णय गर्ने गरेको आरोप लगाए।
उहाँले दलीय भागबण्डाका आधारमा नियुक्ति, सरुवा, बढुवा हुने प्रवृत्ति मौलाएको बताए। लोकतन्त्रलाई नेताहरुबाट संकट रहेको सांसद सिंहको भनाइ थियो।
सांसद योगेन्द्र मण्डलले सरकारको बोली एउटा र व्यवहार अर्को रहेको दाबी गरे। उन शिक्षक आन्दोलन चाँडो टुंग्याउन आवश्यक रहेको उल्लेख गरे।