शिक्षक-सरकार वार्ता : मन्त्रालय प्रवेश नगरी फर्कियो शिक्षक महासंघको टोली

हिमाल प्रेस १२ वैशाख २०८२ १५:५९
328
SHARES
शिक्षक-सरकार वार्ता : मन्त्रालय प्रवेश नगरी फर्कियो शिक्षक महासंघको टोली

काठमाडौँ- वार्ताका लागि आन्दोलन स्थलबाट सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ हिँडेको नेपाल शिक्षक महासंघको टोली वार्ता नगरी फर्किएको छ। मन्त्रालयले कुनै तयारी नगरेका कारण शिक्षकहरू वार्तामा नबसी फर्किएका हुन्। शुक्रबार दिउँसो महासंघ टोली वार्ताका लागि भन्दै आन्दोलनस्थलबाटै सिंहदरबारतर्फ लागेको थियो।

त्यसअघि शिक्षामन्त्री रघुजी पन्तले उनीहरूलाई वार्ताका लागि डाकेका थिए।

‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

सुवेदीले मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली महासंघले तयार नगरेको पनि स्पष्ट पारेका  छन्।

नेपाल शिक्षक महासंघ चैत २० गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छ। उनीहरू विद्यालय शिक्षा विधेयक तत्काल ऐनका रूपमा जारी गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका हुन्। यसअघि पूर्वशिक्षामन्त्री विद्या भट्टराईले पटकपटक वार्ताका लागि डाक्दा पनि शिक्षकहरू वार्ता हैन ऐन जारी हुनुपर्ने पक्षमा अडिग रहँदै आएका थिए।

महासंघका एक पदाधिकारी भने सरकारले बिना तयारी बोलाएपछि वार्तामा नबसेको जानकारी दिए। ती पदाधिकारीले भने, ‘हामी वार्ताका लागि भनेर शिक्षा मन्त्रालय गएका हौँ। गेटमा पुगेपछि कुनै मन्त्रालयका तर्फबाट कुनै तयारी नभएको जानकारी पायौँ। अनि फर्किएका हौँ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ता र संवादका माध्यमबाट शिक्षकका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

संसद् भवन बानेश्वरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले सरकार शिक्षकहरूसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका हुन्। मन्त्री पन्तले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आग्रहसमेत गरे।  उनले संविधान, ऐन कानुनको सीमाभित्र रहेर देशको बजेटले धान्ने गरी समाधान खोज्न तयार रहेको पनि बताए।

प्रकाशित: १२ वैशाख २०८२ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast