
काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुँदै गएको दाबी गरेका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा पुनले सरकारको १० महिनाको गतिविधि हेर्दा बिचौलियाको संरक्षणमा लागेको पुष्टि हुँदै गएको बताए। उनले बिचौलियासँगको साँठगाँठ र विपक्षी दलसँग प्रतिशोध साध्ने बाहेकका कुनै पनि काम सरकारले गर्न नसकेको जिकिर गरे।
पुनले नियामक निकायमा भएको नियुक्ति र राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि भएका चलखेल दिनको घाम जतिकै छर्लंग गरेको बताए। उनले सरकार गठन गर्दा भनिएको संविधान संशोधन सुरु हुन नसकेको, सुशासनको धज्जी उडााउने काम भएको र सरकार बनेको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको बताए।
वर्तमान सरकार बनेपछि जनतामा असन्तुष्टि देखिएकाले त्यसबाट फाइदा उठाउँदै प्रतिगामी तत्त्वले टाउको उठाउने प्रयास गरेको टिप्पणी उनको छ। नेता पुनले आन्दोलनरत चिकित्सक, शिक्षकलगायतका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए।