
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू नेपाली पहिचानलाई विश्वजगतसामु प्रशंसाको विषय बनेको बताएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।
उनले भने, ‘सम्पदा भनेको सभ्यताको पहिचान हो। यी हाम्रा परिचयका प्राण तत्व पनि हुन्। यसम केवल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेका छन्। त्यसैले हाम्रो इतिहास छ। हाम्रो इतिहास दर्विलो छ।’
उनले भूकम्पपछि ढलेका सम्पदाहरुको पुरातात्विक संरचना या पुनः निर्माण परम्परागत शैलीमै गरिएको समेत बताए।
उनले थप्दै भने, ‘ललितपुरमा पनि कला जीवित छ। भक्तपुरमा पनि जीवित छ। काठमाडौँमा जीवित छन्। हाम्रा अरनिको अहिले पनि जीवित छन्। त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो। युनेस्कोको सम्पदा सूचीमा हाम्रा सम्पदालाई जोड्न खोज्छौँ। त्यसैले हाम्रा सम्पदाहरु विश्वव्यापी छन्।’
उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताए।
मन्त्री पाण्डेले स्थानीयको सहभागीताविना सम्पदाहरुको संरक्षण गर्न नसकिने बताए। उनले भुकम्पका कारण हाम्रा थुप्रै सम्पदाहरु ढलेको बताउँदै अहिले ती सम्पादाहरु उठ्ने क्रममा रहेको उल्लेख गरे।
उनले भने, ‘भूकम्पपछि बलेका सम्पदाहरु उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ। हाम्रा आस्था पनि उठेका छन्। हाम्रो आत्मविश्वास पनि उठेको छ। हामी गर्न सक्छौँ, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ।’