
काठमाडौँ- सरकारले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई फेरि वार्तामा डाकेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघलाई वार्ताका लागि आह्वान गरेका हुन्।
यसअघि शिक्षा मन्त्रालयले चैत २१ गते पनि महासंघलाई वार्तामा डाकेको थियो। त्यसपछि चैत २६ र २७ गते पनि सरकारलाई महासंघलाई वार्तामा डाकेको थियो। दुवै पटक शिक्षक महासंघ वार्तामा गएको थिएन। महासंघको अगुवाइमा देशभरका शिक्षक राजधानी केन्द्रित सडक आन्दोलनमा छन्। विद्यालय शिक्षा विधेयक तत्काल संसद्बाट पारित हुनुपर्ने माग शिक्षकहरूको छ।
मन्त्री पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु।’
मन्त्री पन्तले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफल प्रक्रियामा रहेको उल्लेख गरेका छन्। यसैगरी विधेयकलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कमर्चारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उनले विज्ञप्तिमा लेखेका छन्।
‘विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रबर्द्धन गर्न उपयुक्त निकास निकाल्न मन्त्रालय सदैव प्रयत्नशील छ। शिक्षक प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकोले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै हो।’
उनले विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानुनी बन्दोबस्तबारे पनि स्मरण गराएका छन्।
यसैगरी शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लले नेपाल शिक्षक महासंघलाई सम्बोधन गरी वार्तामा आउन अपिल गरेका छन्।