
मुस्ताङ- अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार २०८१ सालमा मुस्ताङ आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको छ। कार्यालयका प्रमुख राजेशप्रसाद गुप्ताका अनुसार २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए भने २०८१ मा यो संख्या १ लाख ४४ हजार ७४५ पुगेको हो।
गत वर्ष सार्क राष्ट्रबाट आउने पर्यटकको संख्यामा ५३ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ। तीमध्ये ८० प्रतिशतजति भारतीय पर्यटक रहेका छन्। उनीहरू मुख्यतः मुक्तिनाथ मन्दिरको दर्शनका लागि मुस्ताङ पुग्ने गरेका छन्।
२०८१ सालमा मात्र सार्क मुलुकबाट १ लाख १७ हजार ६१४ जना र अन्य मुलुकबाट २७ हजार १३१ जना पर्यटक मुस्ताङ आएका छन्।
२०८१ सालको मासिक विवरण अनुसार सबैभन्दा धेरै पर्यटक चैत महिनामा आएका छन्। याे महिनामा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। त्यसपछि जेठमा २८ हजार ८५६ र वैशाखमा २० हजार ८०९ जना पर्यटक आएका थिए। असारदेखि फागुनसम्मको अवधिमा पनि हजारौं पर्यटकको आवागमन भएको देखिन्छ।
एक्यापका अनुसार मुस्ताङमा पर्यटक आगमन वृद्धि हुनुमा प्रमुख कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सञ्चालनमा आउनु हो। साथै अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै मुस्ताङ आउने विदेशी पर्यटकको संख्या पनि उल्लेख्य रहेको छ। लमजुङ–मनाङ हुँदै आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि देखिएको छ।
मुस्ताङमा धौलागिरि, निलगिरि हिमालको दृश्यावलोकन, कालिगण्डकी नदीको तटीय भूगोल, जैविक र सांस्कृतिक विविधता तथा धार्मिक महत्त्वका स्थलहरू मुख्य पर्यटकीय आकर्षण मानिन्छन्। गुम्बा, स्तुपा, छोर्तेन, प्राचीन गुफाहरू, मुक्तिनाथ, कागबेनीधाम, मार्फा, ढुम्बाताल, गुरुसाङ्वो गुफा, दामोदर कुण्ड, टिटी ताल र सेकुङ तालजस्ता गन्तव्य पर्यटकका रोजाइमा छन्।
२०८१ सालमा मात्रै ७२ वटा मुलुकका पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्।