
बादल र घाम लुकामारी गरिरहँदा बारपाकको बस्ती झन् जादुमयी लाग्छ। उत्तरी गोरखाको सुलिकोट गाउँपालिकामा पर्ने यो पहाडी गाउँ विगतको पीडाभन्दा अग्लो भएर उभिएको छ – पुनर्निर्माणपछिको आर्थिक विकासको झिनो आशामा र सांस्कृतिक मौलिकताको सम्झनामा।
२०७२ सालको भूकम्पपछि धेरैको दृष्टि बारपाकतर्फ गएको हो। तर यहाँ पुग्दा थाहा हुन्छ- बारपाकको कथा केवल भूकम्पको होइन, यो इतिहास, सांस्कृतिक सम्पदा र अबको भविष्यबीचको संघर्षको नालीबेली हो।
बारपाक पुग्नेबित्तिकै आकाशजस्तै फिँजिएको हरियाली र टुप्लुक्क देखिने मनास्लु, बुद्ध र गणेश हिमालले आगन्तुकलाई स्वागत गर्छन्। कुहिरो हटेपछि क्षितिजसम्म फैलिएको दृश्यावलोकन गाउँको पहिलो उपहार हो।
गाउँपालिकाको वडा नं. १ र २ मा फैलिएको यो बस्ती प्रकृतिको सौन्दर्यले मात्र समृद्ध छैन, गुरुङ, घले, डाँगे, सामी र रिलाङ जातजातिको जीवित संग्रहालय हो। परम्परागत नाच, पहिरन र जीवनशैली अझै पनि गाउँका गल्लीमा गुँजिरहेका भेटिन्छन्।
यहाँका मानिसका लागि गजे घले इतिहास होइनन्, उनी स्वाभिमानको प्रतीक हुन्। दोस्रो विश्वयुद्धमा जापानविरुद्ध लडेका गजे घलेले पाएको भिक्टोरिया क्रसले बारपाकको चिनारीलाई अन्तर्राष्ट्रिय मानचित्रसम्म पुर्याएको थियो।
‘१२ वैशाख’ पछि बदलिएको गाउँ
२०७२ वैशाख १२ को भूकम्पले बारपाकको इतिहासमा गहिरो घाउ बन्यो। निजी घरदेखि विद्यालय र सरकारी भवन सबै ढले। पानीका मुहान सुक्न थाले, पहिरो खस्यो। बारपाकलाई केन्द्र बनाएर गएको ७.८ रेक्टर स्केलको त्यो भूकम्पबाट ३१ जिल्लामा आठ हजार ७९० जनाको ज्यान गएको थियो।
देश थर्थराइरहँदा बारपाकमा सबथोक लडेको थियो- घर, गोठ, गाई, गधा, सपना, सम्झना। भूकम्पमा गाउँका ७२ जनाले ज्यान गुमाए तर बारपाकले आफैँलाई मर्न दिएन। बाँचेकाहरूले बाँकी जीवन फेरि सुरु गर्नुपर्यो। पुनर्निर्माण पनि भइसकेको छ। नयाँ र आधुनिक घर बनेका छन् तर गुमेका छन् पुराना बास, परम्परागत वास्तुकला र सांस्कृतिक सौन्दर्य।
‘सबै घर भत्किएपछि पुनर्निर्माणमा लागेको हौँ’, २ नम्बर वडाका वडाध्यक्ष पूर्णबहादुर गुरुङ सम्झन्छन्, ‘त्यही बेला हाम्रो मौलिकता गुम्यो।’ बारपाक अब पहिलाजस्तो छैन। ढुंगाले छाएका, एउटै किसिमका घरहरू इतिहास बनिसके। पुनर्निर्माण प्राधिकरणले दिएको १२/१३ वटा ढाँचामा मौलिकता भेटिएन। मानिसहरूले आधुनिक घर रोजे। ‘संस्कार, भूगोल, वातावरणसँग नमिल्ने ढाँचाले हाम्रो बारपाकलाई सहरजस्तो बनायो,’ अध्यक्ष गुरुङ भन्छन्।
गाउँको सिरनामा बनेको भ्युटावरबाट हेर्दा अबको बारपाक सहरझैँ देखिन्छ छरिएका कंक्रिटका छाना, सिँगारिएका घर, पिच सडक।
मौलितकता गुमाए पनि गाउँमा विकासका ढोका खुल्दैछन्। बारपाकमा स्वास्थ्यचौकी, विद्यालय, खानेपानी, ढल व्यवस्थाजस्ता आधारभूत पूर्वाधार बनिसकेका छन्। हिमालय माविमा १२ कक्षासम्म पढाइ हुन्छ। स्कुले शिक्षाका लागि विद्यार्थी पलायन हुनुपरेको छैन। केही निजी स्कुल पनि सञ्चालनमा छन्।
युवा भने गाउँबाट पलायन भइरहेका छन्। ‘घर बनाउन सबै गाउँमै थिए, अहिले भने काम छैन,’ वडाध्यक्ष गुरुङ सुनाउँछन्, ‘विकल्प भनेकै विदेश बनेको छ।’
भूकम्प स्मारक, भ्युटावर र सांस्कृतिक घरबासले बारपाकलाई पर्यटकको रोजाइमा राखेको छ। सिजनमा होमस्टे र होटल भरिन्छन्। आधुनिक होटलमा परम्परागत खानपानभन्दा बाहिरबाट ल्याइएका सामग्रीको वर्चस्व देखिन्छ। ‘होमस्टेमा नुनदेखि तेलसम्म बजारबाट आउँछ। अब त परिकार पनि मौलिक छैन,’स्थानीय लक्ष्मी घलेको गुनासो छ।
गाउँमा सांस्कृतिक सम्पदा बेच्ने होइन, देखाउने माध्यम हो भन्ने चेतना भर्खर पलाउँदै छ। गाउँमा विदेशीको आवागमन छ तर गाउँको आत्मा भने मौलिक संरचना गुमाउँदा अलिक निराशजस्तो देखिन्छ। बारपाक आधुनिकताको उज्यालोमा छ तर त्यो उज्यालोको छायामा चिनारी र परम्पराको वेदना पनि लुकेको छ। बारपाकका लागि प्रश्न सधैँ एउटै रहन्छ- के विकास मौलिकता विस्थापन गरेर सम्भव छ?
बारपाकबाट गोरखा सदरमुकाम करिब ५० किलोमिटर दुरीमा छ। चितवनबाट करिब १२० किलोमिटर दुरीमा पर्छ भने पोखरा १४० किलोमिटर दुरीमा पर्छ। संघीय राजधानी काठमाडौँबाट करिब १७६ किलोमिटर परक छ बारपाक।
काठमाडौँ नयाँ बसपार्कबाट बिहान ६ बजे छुट्ने बसले साँझ ४ बजे बारपाक पुर्याउँछ। पृथ्वी राजमार्गको आबुखैरेनीबाट गोरखा जाने सडकतर्फ लाग्नुपर्छ। गोरखा १२ किलोबाट किलोबाट छेपेटार, भुसुने बजार हुँदै दरौदीको किनारैकिनार ४८ किलोमिटरको यात्रामा बारपाक पुगिन्छ। यसैगरी धादिङको बाटो जाँदा धादिङबेसी आरुघाट तान्द्राङ मसेल खहरेबजार हुँदै दरौँदीतिर लाग्छ बारपाका जाने बाटो।