
काठमाडौँ- शिक्षा ऐनको मागसहित काठमाडौँमा जारी शिक्षक आन्दोलन आज २४ औं दिनमा प्रवेश गरेको छ। शिक्षक कर्मचारीहरूले शैक्षिक गुणस्तर, पेसागत अधिकार र स्थायित्व सुनिश्चित गर्ने शिक्षा ऐन आवश्यक रहेको भन्दै सरकारसँग तत्काल ऐन ल्याउन माग गरेका छन्।
नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले आन्दोलन निर्णायक मोडमा पुगेको बताएका छन्। ‘शैक्षिक सुशासनको न्यायिक मागहरूसहित गर या मरको अवस्थामा शिक्षक कर्मचारी साथीहरू संघर्षको मैदानमा छन्,’ उनले भने, ‘यस्तो संगीन घडीमा विभिन्न बहानाबाजी गर्दै मैदानबाट भाग्नेहरूलाई इतिहासले सजाय दिनेछ।’
संघले शिक्षा ऐनबिना शिक्षाको गुणस्तरमा सुधार सम्भव नरहेको तर्क गर्दै आएको छ। गिरीका अनुसार शिक्षकहरूको पेसागत सुरक्षाका साथै सेवा शर्त, सरुवा, बढुवा, तालिम, मूल्यांकन जस्ता विषयमा प्रस्टता ल्याउने ऐन अविलम्ब आवश्यक छ।
अध्यक्ष गिरीले आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै यस्तो प्रवृत्तिप्रति चेतावनी पनि दिएका छन्। ‘यो केबल ऐनको माग होइन, शिक्षाको भविष्यको सवाल हो,’ उनले भने।
संघले सरकारले चाँडै सकारात्मक पहल नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ।