
काठमाडौँ- विद्यालय शिक्षा विधेयक संसद्बाट तत्काल पारित गर्न माग गर्दै काठमाडौँ केन्द्रित सडक संघर्षमा रहेका शिक्षकहरूले बिहीबार आन्दोलनलाई रचनात्मक मोड दिएका छन्। उनीहरूले नेपाल शिक्षक महासंघको अगुवाइमा सडकमा रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन्।
आन्दोलनको २३औं दिन ‘सिर्जनात्मक कामका लागि शिक्षक आन्दोलन’ भन्ने नारासहित सडकमा रक्तदान गर्दै सरकार र समाज दुवैलाई सन्देश दिन खोजेको नेपाल शिक्षक संघका उपमहासचिव एवं कार्यक्रम संयोजक नारायण तिमल्सिनाले बताए।
उनले नेपालका ब्लड बैंकहरूमा रगत अभाव भएको थाहा पाएपछि रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार कार्यक्रममा झन्डै ६ सय जनाले रक्तदान गरेका छन्
‘संसारका आन्दोलनमा रक्तदान गरिएको उदाहरण थाहा छैन’, तिमल्सिनाले भने, ‘हामीले आन्दोलनलाई नैतिक दबाब र सेवामूलक कार्यक्रमबाट पनि प्रभावकारी बनाउन खोजेका हौँ।’
आन्दोलनमा सहभागी शिक्षक मेघनाथ सुवेदीले रक्तदान कार्यक्रमको सांकेतिक पक्षप्रति जोड दिँदै भने, ‘आन्दोलनमा पसिनामात्र होइन, शिक्षकहरू रगत दिन पनि तयार छन् भन्ने देखाउन चाह्यौँ।”
अर्का शिक्षक महेश घिमिरेले यसपटक आन्दोलनको सन्दर्भमा दिएको रक्तदान विशेष अर्थपूर्ण भएको बताए। ‘शैक्षिक सुधारको आन्दोलनमा सहभागी भएर रक्तदान गर्न पाउँदा छुट्टै आनन्द अनुभव भयो’, उनले भने।
५७ वर्षीय शिक्षक कृष्णबहादुर बस्नेतले भने, ‘शिक्षक भनेका समाज रूपान्तरण गर्ने समुदाय हुन्। यस्ता सिर्जनात्मक कार्यक्रमले राष्ट्रिय स्वाधीनता र एकताप्रति हाम्रो प्रतिबद्धता देखाउँछ।’
नेपाल रेडक्रस सोसाइटी र ब्लड डोनर एसोसिएसनको सहयोगमा सम्पन्न उक्त कार्यक्रममार्फत शिक्षकमाथि समाजको भरोसा अझ बलियो हुने अपेक्षा गरिएको छ।
शिक्षकहरू विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै दैनिक तीन घण्टासम्म सडकमा धर्ना दिँदै आएका छन्। उनीहरूको प्रमुख माग राहत शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीको स्थायित्व र विद्यालय शिक्षा विधेयक तत्काल संसद्बाट पारित हुनुपर्नेसहित छन्।