भारत-पाकिस्तानबीच सैन्य संघर्षको जोखिम कति?

हिमाल प्रेस १३ वैशाख २०८२ १६:००
18
SHARES
भारत-पाकिस्तानबीच सैन्य संघर्षको जोखिम कति? पहलगाम नजिकैको बैसारन मैदान वरपर खोजी अभियानपछि फर्किँदै भारतीय सैनिकहरू। उक्त अभियान मंगलबार पर्यटकहरूमाथि अज्ञात आक्रमणकारीहरूले गोली चलाएर २६ जनाको ज्यान लिएको घटनापछि सुरु गरिएको हो। तस्बिर : एएफपी/रासस

काठमाडौँ- पहलगाम आतंकवादी आक्रमण सन् २०१९ पछि जम्मु कस्मिरमा भएको सबैभन्दा घातक आक्रमण हो, जसमा २६ जनाको ज्यान गयो। मृतकहरू सैनिक वा सरकारी अधिकारी थिएनन्। उनीहरू  भारतको सबैभन्दा सुन्दर उपत्यका घुम्न पुगेका पर्यटक थिए।

त्यसैले यो आक्रमण क्रूर र प्रतीकात्मक दुवै हो। यो मानिसको ज्यान लिने पूर्वनियोजित कारबाहीमात्रै नभएर, स्थिति सामान्य भइसकेपछि पनि आक्रमण हो। त्यो ‘सामान्य स्थिति’ जसको सन्देश दिन भारत सरकारले कडा मिहिनेत गरेको छ।

कस्मिरको जटिल इतिहासलाई हेरेर विज्ञहरू भारतको प्रतिक्रिया, दबाबका साथै विगतको उदाहरणहरूले तय गर्ने बताउँछन्।

सम्पूर्ण कस्मिर भूमिमाथि भारत र पाकिस्तान दुवैले दाबाी गर्दै आइरहेका छन्। यद्यपि यसको छुट्टाछुट्टै हिस्सामा दुवै मुलुकले शासन गरिरहेका छन्।

पहलगाम आक्रमणपछि भारतले जवाफी कदम उठाएको छ- जसमध्ये मुख्य सीमा अटारी बन्द गर्ने, पाकिस्तानसँग भएको सिन्धु जल सन्धि निलम्बित गर्ने र केही कूटनीतिज्ञहरूलाई देश छोड्न दिएको निर्देशन रहेका छन्।

यसका साथै रक्षामन्त्री राजनाथ सिंहले ‘कडा कारबाही’ गर्ने बताएका छन्। उनले आक्रमणकारीलाई मात्रै नभएर यो आक्रमणका योजनाकारमाथि पनि कारबाही गर्ने प्रतिबद्धता गरेका छन्।

कस्तो हुन सक्छ भारतको कारबाही?

सैन्य कारबाही हुन्छ कि हुँदैन यो मुख्य विषय नरहेको विशेषज्ञहरूको बुझाइ छ। उनीहरूका अनुसार कारबाही कहिले हुने यो महत्त्वपूर्ण विषय हो।  सैन्य इतिहासकार श्रीनाथ राघवनले बीबीसीसँग भनेका छन्, ‘हामी कडा कारबाही भएको हेर्न सक्छौँ। यो घरेलु जनता र पाकिस्तानका मानिसका लागि सन्देश हुनेछ। सन् २०१६ देखि विशेषतः सन् २०१९ पछि जवाफी कारबाहीका रूपमा सीमापारी सैन्य अभियान र हवाई आक्रमणको तरिका अपनाइएको थियो।’

भारत सरकारसँग अब त्योभन्दा कम कारबाही गर्न कठिन हुने उनको भनाइ छ। उनी भन्छन्, ‘अब सरकारसँग त्योभन्दा कम कारबाही गर्न कठिन हुनेछ। र, पाकिस्तानले यसको जवाफ दिनेछ, जसरी यसअघि उसले पहिले पनि गरिसकेको छ। दुवैतर्फबाट गलत अनुमानको खतरा बनिरहने छ।’

राघवनको संकेत यसअघि सन् २०१६ र सन् २०१९ मा भारतको तर्फबाट गरिएको जवाफी कारबाहीतर्फ रहेको छ। सेप्टेम्बर २०१६ मा जम्मु–कस्मिरको उरीमा नियन्त्रण रेखानजिक भएको घातक आक्रमणमा १९ भारतीय सैनिकको मृत्यु भएको थियो।

यो घटनापछि भारतले नियन्त्रण रेखा (एलओसी) पार गर्दै ‘सर्जिकल स्ट्राइक’ गरेर पाकिस्तान प्रशासित कस्मिरस्थित आतंकवादी लुकेको ठाउँमा आक्रमण गरेको थियो।
सन् २०१९ मा पुलवामामा आक्रमण भएको थियो, जसमा अर्धसैनिक बलका ४० जवानको मृत्यु भएको थियो। त्यसपछि भारतले बालाकोटमा आतंकवादी क्याम्पमा हवाई आक्रमण गरेको थियो।

सन् १९७१ पछि भारतले पाकिस्तानभित्र छिरेर पहिलोपटक आक्रमण गरेको थियो। भारतले पनि लडाकु विमान प्रयोग गरेर यसको जवाफ दिएको थियो। र, लडाकु विमानबीचको संघर्षमा एक भारतीय पाइलटलाई पाकिस्तानले बन्दी बनाएको थियो।

त्यो घटनामा दुवैतर्फबाट शक्ति प्रदर्शनहरू भए, तर पूर्ण युद्धलाई विराम दिइयो।

संघर्षको जोखिम

दुई वर्षपछि सन् २०२१ मा दुवै देशबीच एलओसीमा युद्धविराम गर्ने सहमति बन्यो। तर, जम्मु–कस्मिरमा पटकपटक भएका आतंकवादी आक्रमणका बाबजुद यो सम्झौता कायम रह्यो।

विदेशी नीतिका विश्लेषक माइकल कुगलमैन पछिल्लो आक्रमणमा पाकिस्तानको संलग्नता भएको प्रमाण भारतले प्राप्त गरे पाकिस्तानविरूद्ध भारतीय सेनाको कडा कारबाही हुनसक्ने बताउँछन्।

‘भारतका लागि यसखाले प्रतिक्रियाको मुख्य लाभ राजनीतिक हुनेछ। किनभने उसमाथि कडाभन्दा कडा कारबाही गर्ने दबाब हुनेछ,’ उनी भन्छन्,‘यदि जवाफी कारबाहीमा आतंकवादीस्थललाई निशाना बनाइए भारतविरोधी खतरा कम हुनेछ। यसको एउटा नकारात्मक पक्ष के हो भने जवाफी कारबाहीको संकट गम्भीर हुनसक्नेछ। यहाँ सम्म कि संघर्ष सुरू हुने जोखिम पनि हुनेछ।’

भारतसँग के छ विकल्प?

अमेरिकाको आलबनी विश्वविद्यालयका क्रिस्टोफर क्लैरीका अनुसार भारतसँग दुई विकल्प रहेका छन्।

पहिलो, २०२१ को एलओसी युद्धविराम कमजोर देखिएको छ। यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘क्रस बोर्डर’ फायरिङका लागि ‘ग्रिन सिग्नल’ दिन सक्नेछन्।
दोस्रो, सन् २०१९ जस्तै हवाई आक्रमण वा पारम्परिक क्रुज मिसाइलको विकल्प पनि हुनसक्छ। यसमा जवाफी कारबाहीको जोखिम पनि देखिएको छ, ठीक सन् २०१९ जस्तै।

भारत–पाकिस्तान संकटमा सबैभन्दा बढी जोखिम परमाणु हतियारको देखिएको छ। हरेक निर्णयमा यसको असर देखिन्छ, चाहे सैन्य रणनीतिलाई आकार दिने वा राजनीतिक समीकरणको मामिला होस्।

परमाणु हतियारले खतराका साथै प्रतिरोधको कामसमेत गर्ने गरेको राघवन बनाउँछन्। यसले दुवै पक्षलाई कारबाही गर्ने निर्णयमा संयम अपनाउन बाध्यसमेत बनाउने गरेको छ। बीबीसीको सहयोगमा

प्रकाशित: १३ वैशाख २०८२ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast