
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमण संलग्न सबैलाई सजाय दिने प्रतिज्ञा गरेका छन्।
जम्मु–कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादीले गरेको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।
बिहारको मधुबनीमा राष्ट्रिय पञ्चायती राज दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पहलगाममा भएको आतंकवादी आक्रमणपछि मोदी बिहीबार पहिलोपटक मधुबनीमा सार्वजनिक कार्यक्रममा भाग लिएका हुन्।
यो घटनापछि पहिलोपटक सम्बोधन गर्दै मोदीले भने,‘म सारा विश्वलाई भन्छु– भारतले हरेक आतंकवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ। हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनासम्म खोज्नेछौँ।’
मोदीले जम्मु–कश्मीरको पहलगाममा आक्रमण गर्ने आतंकवादीहरूलाई कल्पनाभन्दा बढी सजाय दिइने बताएका छन्।
उनले भने,‘आज बिहारको धरतीबाट सारा दुनियाँलाई सन्देश दिन चाहन्छु कि भारतले सबै आतंकवादीको पहिचान गरेर, खोजेर सजाय दिन्छ। साथै उसलाई समर्थन गर्नेलाई पनि। हामी उनीहरूलाई धरतीको अन्तिम कुनासम्म छोड्नेवाला छैनौँ।’
आतंकवादलाई सजाय दिएविना नछोड्ने मोदीले बताए। उनले भने,‘आतंकवादलाई सजाय नदिलाई छोड्दैनौँ। न्यायका लागि सबै प्रयास गरिन्छ। पूरा देश यो संकल्पमा एकसाथ उभिएको छ। मानवतामाथि विश्वास राख्ने सबै हामीसँग छन्। यो समयमा हामीसँग उभिने सबै देशलाई धन्यवाद दिन चाहन्छु।’
पर्यटकीयस्थल पहलगाममा भएको पछिल्लो आतंकवादी आक्रमण सन् २००० यता नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो।
‘सीमापारी आतंकवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै भारतले बुधबार पाकिस्तानसँग सम्बन्धीत महत्वपूर्ण निर्णयहरू गरेको छ।
नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिला क्याबिनेट कमिटी (सीसीए) बैठकले भारतमा भएको पाकिस्तानी उच्चायोग बन्द गर्ने निर्णय गर्दै पाकिस्तानी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको थियो। त्यस्तै भारतमा रहेका सबै पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने निर्ण बैठकले गरेको थियो।
सीसीए बैठकले पाकिस्तानसँग रहेको सिन्धु जल सम्झौतालाई निलम्बन गर्ने निर्णय गर्दै अटारी सीमा पनि बन्द गर्ने निर्णय गरको छ।