पहलगाम आक्रमण : ४८ घण्टाभित्र पाकिस्तानी कूटनीतिज्ञलाई भारत छोड्न निर्देशन

भारतमा भएको पाकिस्तानी उच्चायोग बन्द गर्न निर्देशन

हिमाल प्रेस १० वैशाख २०८२ २२:२०
34
SHARES
पहलगाम आक्रमण : ४८ घण्टाभित्र पाकिस्तानी कूटनीतिज्ञलाई भारत छोड्न निर्देशन

काठमाडौँ- जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरूद्ध पाँच ठूला निर्णयहरू गरेको छ। नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिला क्याबिनेट कमिटी (सीसीए) बैठकले यो निर्णय गरेको हो।

प्रधानमन्त्री निवासमा बसेको सीसीए बैठकले पाकिस्तानसँग रहेको सिन्धु जल सम्झौतालाई निलम्बन गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले अटारी सीमा बन्द गर्ने निर्णय पनि गरेको छ।

बैठकले भारतमा भएको पाकिस्तानी उच्चायोग बन्द गर्ने निर्णय गर्दै पाकिस्तानी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ भने भारतमा रहेका सबै पाकिस्तानी नागरिकको भिसा रद्द गर्ने निर्णय गरेको छ।

सीसीए बैठकमा गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित शीर्ष अधिकारीहरू उपस्थित थिए।

बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भारतका विदेश सचिव विक्रम मिस्रीले सार्क भिसा छुट योजनाअन्तर्गत पाकिस्तानी नागरिकलाई भारत आउन अनुमति प्राप्त नहुने बताए।

नयाँदिल्लीस्थित पाकिस्तानी उच्चयोगका रक्षा, नौसेना र वायु सेना सल्लाहकारलाई ‘अवांछनीय’ व्यक्ति घोषित गरिएको उनले जानकारी दिए।

पहलगाममा मंगलबार पर्यटकहरूमाथि आतंकवादी आक्रमण भएको थियो। यो आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

पहलगाममा आतंकवादी आक्रमण भएको बेला प्रधानमन्त्री मोदी साउदी अरबको भ्रमणमा थिए। घटनाको जानकारी प्राप्त भएसँग मोदीले भ्रमण छोट्याएर भारत फर्किएका थिए।

बुधबार बिहान नयाँदिल्ली पुगेका उनले गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित शीर्ष अधिकारीहरूसँग छलफल गरेका थिए।

प्रकाशित: १० वैशाख २०८२ २२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast