
जम्मु कस्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भएको आतंकवादी आक्रमणले सम्पूर्ण भारतका साथै विश्वजगतलाई स्तब्ध बनाएको छ। यो आक्रमण विशेष गरी ती निर्दोष पर्यटकहरूलाई लक्षित गरिएको थियो, जो आफ्ना परिवारसँग शान्तिपूर्वक बिदा मनाउन कस्मिर गएका थिए। यो घटनालाई भारतीय संविधानको अनुच्छेद ३७० हटाइएपछिको सबैभन्दा घातक आक्रमण ठानिएको छ।
मंगलबार बैसारनमा सामान्य रूपमा सुरु भएको थियो। लगभग १००० देखि १५०० पर्यटक उपस्थित थिए। दिउँसो करिब २:४५ बजे ३ देखि ६ आतंककारी, जसले सेनाको बर्दी लगाएका थिए, अचानक पर्यटकहरूमाथि अन्धाधुन्ध गोलीबारी सुरु गरे। उनीहरू विना डर घाँसेमैदानमा खुलेआम हिँडे, २० मिनेटसम्म आतंक मच्चाए।
घटनाबारे पीडितहरूले मुटु कापिने वृतान्त सुनाएका छन्। जम्मु–कस्मिरको पहलगामस्थित बैसारन उपत्यकामा भएको आतंकी आक्रमणपछि चिच्याहट गुन्जिन थाले। आतंकवादीहरूको गोलीको सिकार कसैको श्रीमान्, कसैको दाइ र कसैको बाबु बने। बिदा मनाउन गएका पर्यटकले पहलगाममा कहिल्यै निको नहुने गरी पीडा भोगेका छन्।
जम्मु कस्मिरको अनन्तनाग जिल्ला दक्षिण कस्मिरमा पर्छ। मंगलबार आतंकवादीहरूले अनन्तनागको पहलगामदेखि केही किलोमिटर टाढा रहेको बैसारन उपत्यकालाई निसाना बनाए। बैसारनको सुन्दर उपत्यका पर्यटकमाझ निकै चर्चित छ। सोही ठाउँमा आतंककारीहरूले निर्दोषहरूको रगत बगाएका हुन्।
जम्मु कस्मिरबाट अनुच्छेद ३७० हटाइएपछि यो सबैभन्दा घातक आक्रमण थियो। र, यसलाई सन् २००० यता कस्मिरमा भएको सबैभन्दा भीषण आक्रमण मानिएको छ।
कसरी भयो आक्रमण
प्रत्यक्षदर्शीका अनुसार बैसारनमा दिउँसो २:४५ बजेतिर पर्यटकको संख्या बढ्दै गइरहेको बेला आतंककारीले त्यहाँ रहेका पर्यटकमाथि अन्धाधुन्ध गोली चलाएका थिए। आतंककारीहरूको संख्या ३ देखि ६ को बीचमा रहेको बताइएको छ। ती आतंककारी प्रहरी र सेनाको पोसाकमा थिए। सेनाको पोसाकमा देखिएपछि मानिसले शंका गरेनन्। र, तिनै आतंककारीहरूबाट उनीहरू मारिए।
यस आक्रमणमा २७ जनाको मृत्यु भयो, सबै पुरुष थिए, जो भारतका विभिन्न भागबाट बिदा मनाउन पहलगाम पुगेका थिए। मृतकमध्ये एकजना नेपालका नागरिक समेत थिए। बुटवलका सुदीप न्यौपाने आतंकवादीहरूको सिकार भएका हुन्। यो घटनामा १७ जना घाइते भएको बताइएको छ।
एक महिला पर्यटकलाई उद्धृत गर्दै ‘इन्डियन एक्सप्रेस’ ले जनाएअनुसार बर्दी लगाएका आतंकवादीहरू जंगलबाट निस्केर घाँसे मैदानमा आए, जहाँ पर्यटक प्रकृतिको आनन्द लिइरहेका थिए। ती महिलाले भनिन्, ‘उनीहरू कम्तीमा २० मिनेटसम्म त्यहाँ रहे, कुनै डरबिना त्यहाँ घुमे र गोली चलाइरहे।’
पत्नीको सामुन्ने पत्नीको हत्या
भारतीय सञ्चारमाध्यमले पर्यटकलाई गोली हान्नुअघि आतंककारीहरूले उनीहरूको नाम र धर्म सोधेका र त्यसपछि गोली हानेको उल्लेख गरेका छन्। ‘इन्डियन एक्सप्रेस’ ले एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘घाँसे मैदानमा पुग्नासाथ आतंककारीहरूले सबै पर्यटकहरूलाई बन्दुकको देखाएर बन्धक बनाए र सबै महिला र बालबालिकालाई टाढा रहन भने। पहिचान सोधपुछ गरेपछि आतंककारीहरूले नजिकबाट गोली चलाए। त्यसपछि उनले अन्धाधुन्ध गोलीबारी सुरु गरे।’
केही पर्यटकलाई गोली हान्नुअघि कपडा उतार्न पनि भनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आतंकवादीहरूले झन्डै २०–२५ मिनेटसम्म अन्धाधुन्ध गोली चलाएको बताइएको छ।
भारतको कर्नाटक राज्यकी पल्लवी आफ्ना श्रीमान मंजूनाथ र १८ वर्षका छोरासँग आक्रमणको समयमा त्यहीँ थिइन्। आतंकवादीहरूलाई गरेको आग्रहबारे कन्नड मिडियासँग पल्लवीले भनिन्, “तपाईँले मेरो श्रीमानलाई मार्नुभयो, मलाई पनि मारिदिनुहोस्।’ आतंककारीले भने – तिमीलाई मारेनौँ, जाऊ मोदीलाई बताइदेऊ।
उनले श्रीमान् सँगै मारिन दिनका लागि गुहार गरेकी थिइन्। उनले मिडियालाई भनिन्, ‘हामी पहलगाममा थियौँ र मेरो श्रीमानको मृत्यु मेरो आँखा अगाडि भयो। म न त रून सकिरहेको थिएँ, न केही बोल्न। मलाई त थाहा नै भएन कि के भएको थियो। म श्रीमान् मञ्जुनाथ र छोरा अभिजयसँग कर्नाटकको शिवमोग्गाबाट यहाँ आएकी थिएँ।”
आक्रमणबारे उनले थप भनिन्, ‘आतंकवादीहरू ठीक हाम्रा अगाडि थिए। उनीहरू सेनाको वर्दीमा थिएनन्। लगभग सबै पुरुषलाई लक्ष्य बनाइएको थियो। धेरै नवविवाहित जोडीहरू थिए। र, पुरुषहरूमाथि मात्रै आक्रमण भएको थियो। महिला र अन्यलाई भने निशाना बनाइएको थिएन। हिन्दूहरूलाई निशाना बनाइएको थियो।’
मर्नेहरूमध्ये धेरै नवविवाहित थिए। हरियाणाको करनालका २६ वर्षीय भारतीय नौसेना अधिकारी लेफ्टिनेन्ट विनय नरवाल पनि मारिए। नरवालको हालै विवाह भएको थियो र उनी श्रीमतीसँग बिदामा गएका थिए।
मृतकमध्ये भारतका विभिन्न भागका मानिसहरू छन्- ओडिसा, महाराष्ट्र, उत्तर प्रदेश, केरल, पश्चिम बंगाल, तेलङ्गाना लगायत राज्यहरूबाट। ओडिसाका ४३ वर्षीय प्रशान्त सत्पथी आफ्नी श्रीमती र ९ वर्षीय छोरासँग बिदा मनाउन गएका थिए। आतंकवादीहरूले उनलाई नजिकैबाट गोली हाने। कोच्चिका ६५ वर्षीय रामचन्द्रन पनि परिवारसँग बैसारनमा घोडा चढेर घुमिरहेका बेला आक्रमणको सिकार बने।
मृतकहरूमध्ये कानपुरका व्यापारी शुभम् द्विवेदी पनि थिए। उनको विवाह दुई महिना अगाडि भएको थियो। उनी श्रीमती तथा परिवारका अन्य सदस्यहरूसँग घुम्न गएका थिए। आतंककारीहरूले गोली चलाउँदा उनीसँग उनकी श्रीमती नै थिइन्। शुभमका भाइले एक टेलिभिजन च्यानलसँग भने, ‘आतंककारीहरूले शुभमसँग भने, यदि मुसलमान हौ भने कलमा पढेर देखाऊ, जब कुनै उत्तर आएन, तब आतंकवादीले उनको टाउकोमा गोली हान्यो।’
भारतको गुप्तचर संस्था ‘इन्टेलिजेन्स ब्यूरो’ (आईबी) का अधिकारी मनीष रञ्जनको पनि आक्रमणमा मृत्यु भयो। उनी हैदराबादस्थित आईबी कार्यालयमा सेसन अफिसर थिए। मनीष बिहारका बासिन्दा थिए र परिवारसँग कस्मिर छुट्टी मनाउन गएका थिए। आक्रमणको बेला उनीसँग श्रीमती र बच्चाहरू पनि थिए।
महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देको कार्यालयद्वारा जारी वक्तव्यअनुसार, पहलगामको आतंकवादी आक्रमणमा महाराष्ट्रका पाँच पर्यटकको मृत्यु भएको छ।
छत्तीसगढको रायपुरका ४२ वर्षीय दिनेश मिरानिया आफ्नी श्रीमती नेहा र बच्चाहरूसँग विवाहको वार्षिकोत्सव मनाउन कस्मिर गएका थिए, उनी पनि गोलीको सिकार बने। उनका एक साथीले मिडियालाई भने, ‘उहाँले एक दिनअघि मलाई फोन गर्नुभएको थियो, भन्नु भएको थियो कि वैष्णो देवी गएका थियौं। आज उहाँहरूको विवाहको वार्षिकोत्सव थियो।’
डीडब्ल्यूको सहयोगमा