
लुम्बिनी– भारत जम्मु कस्मिर घुम्न गएका बेला बुटवलका सुदीप न्यौपानेको आतंककारी आक्रमणमा परी मृत्यु भएको छ। सुदीप आमा रिमा पाण्डे (रिमकला), बहिनी सुष्मा र ज्वाइँ उज्जवल काफ्लेसहित भ्रमणका लागि पहलगामको बैसारन पुगेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार सो ठाउँमा मंगलबार आतंककारी समूहले एकाएक गोली प्रहार गर्न थाल्यो। सोही पर्यटकीय स्थलमा आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्जवलसहित भ्रमण गरिरहेका बुटवलमाथि आतंककारीले गोली प्रहार गरी सुदीपको हत्या गरे।
‘भतिज, उनकी आमा, बहिनी र ज्वाइँ जम्मु कस्मिर घुम्न गएका बेला आतंककारीले हिन्दु, मुस्लिम के हो भनेर सोध्दा हिन्दु भनेपछि हत्या गरेको खबर सुनिएको छ’, सुदीपका काका बुटवल-१४ निवासी तेजुलाल न्यौपानेले भने, ‘यो खबरले हामी अत्यन्तै मर्माहत भएका छौँ।’
घुम्न गएको बेला विनाकारण भतिज आतंककारी हमलामा परी मृत्यु हुनुपरेकाले भारत सरकारले क्षतिपूर्ति दिनुपर्ने उनको माग छ। उनले पर्यटकीय स्थलमा आतंककारी आक्रमणमा परी नेपाली नागरिकले ज्यान गुमाउनुपरेकाले भारत सरकारसँग सुरक्षाको वातावरण बनाउन आग्रह गरे। ‘भतिजको शव सहज रूपमा ल्याउने वातावरण बनाउन र भ्रमणमा रहेका परिवारका सदस्यहरूलाई सकुशल नेपाल ल्याउने वातावरण मिलाउनसमेत म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’ तेजुलालले भने।
सुदीपको पुर्ख्यौली घर बुटवल-१४ बेलभरिया दुर्गा मन्दिर टोल हो। आमा, बहिनी र सुदीप भने बुटवल-११ कालिकानगर बस्दै आएका थिए। ‘नाति, बुहारी र नातिनी ज्वाइँ कास्मिर घुम्न गएका रहेछन्, थाहा पनि थिएन’, हजुरबा खेमानन्द न्यौपानेले भने, ‘बिहान पाठपूजा गर्दै थिएँ, जहानले नगर्नू भनिन्, के भो भन्दा नातिको मृत्यु भयो भनेपछि थाहा भयो।’
विवाहसमेत नभएको नातिको मृत्युको खबरले ८९ वर्षीय हजुरबा भावविह्वल छन्। ‘यही घरमा जन्मिएको हो, सुदीप’, हजुरबाले घर देखाउँदै भने, ‘पछि आमासँग कालिकानगरमा बस्न थाल्यो, अब ठूलो हुँदै थियो, यस्तो खबर सुन्नुपर्यो।’ हजुरबुबा खेमानन्दले सपनाजस्तो लागेको सुनाए।

‘मंसिरमा आएर आमा बिरामी भए खबर गर्नु है भनेर गएको थियो, जम्मुकास्मिरमा आतंककारीले मारेछन्’, ८२ वर्षीया हजुरआमा सेवकली न्यौपानेले भनिन। उनले बिहानै नातिको मृत्युको खबरले जाँगर नचलेको सुनाइन्।
सुदीपका बुवा कौशलराज न्यौपाने सामुदायिक विद्यालयका शिक्षक हुन्। उनी अहिले काठमाडौँमा शिक्षकहरुको आन्दोलनमा छन्। मंगलबार आतंककारी समूहको आक्रमणमा परी सुदीपसहित २६ जनाको मृत्यु भएको हो। भ्रमणमा गएका आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्जवल सकुशल रहेको काकासमेत रहेका बुटवल-१४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए। उनका अनुसार बुधबार साँझसम्म शव ल्याउने तयारी छ।