
लुम्बिनी- जम्मु कस्मिरको पहलगाममा भएको आक्रमणमा परी मृत्यु भएका नेपाली बुटवलको भएको पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका-१४ का वडाअध्यक्ष दधिराम न्यौपानेले मृत्यु भएका सुदीप न्यौपाने आफ्नो भतिज भएको पुष्टि गरेका हुन्।
उनले भने, ‘सुदीप मेरो दाजुको छोरा हो। दु:खद खबर सुनियो। म काठमाडौँमा छु। शव नेपाल ल्याउने तयारी भइरहेको छ।’ उनका अनुसार न्यौपानेको स्थायी बसोबास बुटवल-१४ बेलभरिया हो। उनीहरूको बुटवल-११ कालिकानगरमा पनि घर छ। आक्रमणमा परेर २६ जनाको ज्यान गएको थियो।
भारत प्रशासित जम्मू कश्मीरमा मंगलबार बन्दुकधारीहरूले तीर्थयात्रीमाथि गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ।
आतंकवादी आक्रमणमा परी घाइते हुनेमा एक नेपाली पनि छन्। घाइते हुनेमा नेपालकी रेनु पाण्डे रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
बीबीसीले दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापालाई उधृत गर्दै आफन्तहरूसँग घुम्न गएका बुटवलका न्यौपानेकाे गोली प्रहारबाट मृत्यु भएको जनाएको छ। ‘उहाँकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको रहेछ तर अवस्था सामान्य छ,’ थापाले भनेका छन्। सुदीप न्यौपाने स्नातक तहमा पढ्दै गरेको र अविवाहित रहेको बुझिएको छ।
भारतीय सञ्चार माध्यमले नेपाली नागरिकको मृत्यु भएको विवरण प्रकाशित गरेपछि नेपाली अधिकारीहरूले त्यसबारे खोजी गरेका थिए। थापाका अनुसार मृतकको परिवार नेपाली अधिकारीहरूको सम्पर्कमा आइसकेको छ। नेपाली दूतावासका अनुसार उक्त क्षेत्रमा घुम्न र मौसमी कामदारका रूपमा नेपालीहरू पनि जाने गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै ‘आतंकवादविरुद्धको लडाइँमा’ भारतसँगै उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘आतंकवादी आक्रमण’ भनेका छन्। उनले त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने उद्घोष गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली संघकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताहरूले उक्त घटनाको भर्त्सना गरेका छन्।