‘वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको छ’

हिमाल प्रेस ९ वैशाख २०८२ २१:३०
92
SHARES
‘वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको छ’

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको बताएका छन्।

एकीकृत समाजवादीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रियता, जनजीविका, सामाजिक रुपान्तरणलगायतका विषयलाई उचित ढंगले अघि बढाउन कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गर्नुपर्ने बताए।

ठूला पार्टीको आत्मकेन्द्रित स्वार्थीपनका कारण जनताको समृद्धिको चाहना पूरा हुन नसकेको बताउँदै उनले जनतामा असन्तोष, विरोध र आक्रोश बढ्दै गएकाले यसको जिम्मेवारी ठूला पार्टीहरूले लिनुपर्ने टिप्पणी गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका संकटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफ्नो पार्टी भएको उल्लेख गरे।

पार्टीको महासचिव घनश्याम भुसालले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहिनताले प्रतिभा पलायन भइरहेको अवस्थामा संविधानका प्रगतिशील र समाजवादी पक्षलाई कार्यन्वयन गर्नुपर्ने जोड दिँदै प्रतिगामी शक्तिकाविरुद्ध संघर्ष गर्न देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याए।

उनले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए।

पार्टी सचिव शेरबहादुर कुँवरले जनता र राष्ट्रका समस्या पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै मुलुकको विद्यमान समस्या समाधान गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताए।

प्रकाशित: ९ वैशाख २०८२ २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast