मलेसियामा ६१ नेपालीले गरे आत्महत्या

रमेश भारती १० वैशाख २०८२ १०:१६
142
SHARES
मलेसियामा ६१ नेपालीले गरे आत्महत्या

काठमाडौँ- एक वर्ष अवधिमा मलेसिया वैदेशिक रोजगारीमा पुगेका ६१ जना नेपाली कामदारले आत्महत्या गरेका छन्। २०८१ वैशाखदेखि २०८२ को वैशाख पहिलो सातासम्म मलेसिया रोजगारीमा गएका ६१ जना नेपाली आत्महत्या गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयले जनाएको छ।

सचिवालयको तथ्यांकअनुसार २०८१ वैशाख र जेठमा नौ-नौ जना, असार र साउनमा पाँच-पाँच, असोजमा सात, कात्तिकमा चार, मंसिरमा तीन, पुसमा चार, माघमा तीन, फागुनमा पाँच, चैतमा पाँच र २०८२ वैशाख पहिलो सातामा दुईजनाले मलेसियामा आत्महत्या गरेका हुन्।

गत वर्ष मलेसियामा ७४ जनाले आत्महत्या गरेको सचिवालयको तथ्यांकमा छ।

गत वर्ष साउदीमा ३६, यूएईमा ३३, कतारमा २१ र कुवेतमा १२ जना वैदेशिक रोजगारीमा कार्यरत कामदारले आत्महत्या गरेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार २०८० सालमा मलेसियामा ५७, यूएईमा २५, साउदीमा २६, कतारमा २५ र कुवेतमा चारजनाले आत्महत्या गरेका थिए।

२०७९ मा युएईमा २९, साउदीमा ४१, मलेसियामा २९, कतारमा २७ र कुवेतमा चारजनाले आत्महत्या गरेको बोर्डको तथ्यांकमा छ। २०७८ मा मलेसिया गएका २३ जनाले आत्महत्या गरेको बोर्डले जनाएको छ।

वैदेशिक रोजगारीमा गई आत्महत्या गर्ने नेपालीको कुल संख्याको करिब ४० प्रतिशत मलेसियाको भएको बोर्डको तथ्यांकमा छ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगारीमा गई आत्महत्या गर्नेमध्ये अधिकांश मलेसिया र खाडी देशमा गएका कामदार भएको जानकारी दिए। उनका अनुसार मलेसिया र खाडीको तुलनामा युरोपका देशमा कम आत्महत्या हुने गरेको छ।

अस्वस्थ प्रतिस्पर्धाका कारण पैसा कमाउन उच्च लोभ र भनेजस्तो कमाइ नहुँदा पनि वैदेशिक रोजगारीमा गएका नेपालीले आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए। ‘पछिल्लो समय सम्बन्ध बिग्रिएका कारण पनि वैदेशिक रोजगारीमा कार्यरत कामदार आत्महत्या गर्छन्। वैदेशिक रोजगारीमा जाने कामदारलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रभावकारी अभिमुखीकरण तालिम नहुँदा पनि यो समस्या हो कि भन्ने छ’, उनले भने।

वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर घटाउन सरकारले स्वास्थ्यसम्बन्धी बेग्लै परामर्श कक्ष सञ्चालन गर्ने तयारी गरिरहेको उनको भनाइ छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा आत्महत्याका घटना बढ्नु सरकारको टाउको दुखाइको विषय बनेको छ। सरकारले २०७५ सालले आत्महत्याको दर घटाउन रोजगारदाता देशमा स्वास्थ्य डेस्क राख्ने योजना अघि सारेको थियो। तर यो योजना श्रम मन्त्रालयमै थन्किएको छ।

वैदेशिक रोजगारीमा कार्यरत कामदार फरक वातावरणमा ‘सेयरिङ एन्ड केयरिङ’को कल्चर नहुँदा पनि आत्महत्या गरेको हुन सक्ने क्लिनिकल साइकोलोजिस्ट नवराज फुयालको अनुमान छ।

सामाजिक, आर्थिक अवस्थाका कारण बढी कमाउने आकांक्षा र आत्मविश्वास कम हुँदा धेरै आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए। ‘वैदेशिक रोजगारीमा जाने कामदार मानसिक स्वास्थ्य, खानपान, जीवनशैलीजस्ता विषय पनि तालिम नपाउँदा पनि चिन्तित भएर आत्महत्या गर्दै आएका छन्। उनीहररूको परिवारिक समस्या र सोचेजति कमाइ नहुनु पनि हो’, उनले भने।

आत्महत्या रोक्न मानसिक स्वास्थ्यका विषयमा यस्तो विकराल स्थिति देखिएको अवस्थामा सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ।

मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक नलिँदा आत्महत्याको समस्या र यसको दर बढेको उनले जानकारी दिए। सरकारले यसका लागि वैदेशिक रोजगारीमा जाने कामदारलाई बेग्लै अभिमुखिकरण तालिम सञ्चालन गर्नुपर्ने उनी बताउँछन्।

वैदेशिक रोजगारीमा गएका नेपाली कार्यस्थलमा हुने दुर्घटना, आत्महत्या, ट्राफिक दुर्घटना, पानीमा डुबेर र एस्फिक्सियाका कारण मृत्यु हुने गरेको छ।

प्रकाशित: १० वैशाख २०८२ १०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast