अन्योलमा कक्षा १२ का साढे ५ लाख परीक्षार्थी

हिमाल प्रेस ९ वैशाख २०८२ १७:३३
50
SHARES
अन्योलमा कक्षा १२ का साढे ५ लाख परीक्षार्थी

काठमाडौँ- नेपाल शिक्षक महासंघको आन्दोलनका कारण साढे ५ लाख विद्यार्थी अन्योलमा परेका छन्। राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को अन्तिम परीक्षा गर्ने तयारी गरेको छ।

परीक्षा सञ्चालनमा सहभागी हुनुपर्ने शिक्षकहरू भने देशभरका विद्यालय बन्द गरेर राजधानी केन्द्रित आन्दोलनमा छन्।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको छ। परीक्षा सञ्चालनका लागि परिचालन हुने जनशक्ति विद्यालय शिक्षक र कर्मचारी सडक आन्दोलनमा रहेका कारण बोर्डले भनेजस्तो परीक्षा सञ्चालन गर्न सहज छैन।

परीक्षा आउन दुई दिन बाँकी रहँदा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिएका हुन्। बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘तोकिएको समयमा नै परीक्षा गर्न विद्यार्थीबाट पनि अनुरोध भएकाले परिक्षालाई सञ्चालन गर्न बोर्ड तयार छ।’ शर्माका अनुसार परीक्षामा नियमित र आंशिक गरी साढे पाँच लाख विद्यार्थी सहभागी हुँदै छन्।

बोर्डले परीक्षाको तयारी गरिरहँदा शिक्षक भने २१ दिनदेखि सडक आन्दोलनमा छन्। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए।

महासंघले परीक्षामा कुनै पनि अवस्थामा सहभागी नहुन शिक्षक कर्मचारीलाई आग्रह गरेको छ।

महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ।’ विज्ञप्तिमा सबै केन्द्राध्यक्षलाई काठमाडौँमा सञ्चालित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरिएको छ।

शिक्षा क्षेत्रमा अन्योल भइरहँदा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।

प्रकाशित: ९ वैशाख २०८२ १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast