
काठमाडौँ- नेपाल शिक्षक महासंघले आफ्ना माग पूरा गर्न शरीरमा एक थोपा रगत छउन्जेल सडक आन्दोलन जारी राख्ने निष्कर्ष निकालेको छ। महासंघको मंगलबार काठमाडौँमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बैठकमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘ऐन जारी नहुन्जेल एक थोपा रगत भएसम्म हामी लड्छौँ। आन्दोलन प्रदेश र पालिकामा फर्किने कुनै सम्भावना छैन। जस्तोसुकै कठिन अवस्थामा भए पनि आन्दोलनमा रहन्छौँ।’
उनले आन्दोलन निर्णायक मोडमा पुर्याएरै छाड्ने बताए। साथै उनले आन्दोलन जारी राखेर १२ गतको संसदमार्फत सरकारलाई दबाब दिइने पनि बताए। उनले भने, ‘यो आन्दोलन निर्णायक मोडमा पुर्याउनुपर्छ। १२ गतेको संसदमार्फत सरकारलाई दबाब पर्छ। १५ गते सरकारले केही निर्णय गर्न बाध्य हुन्छ।’
यसैगरी उनले शिक्षक नेतृत्वमाथि प्रशासन र सुरक्षा निकायबाट धम्की आएको बताएका छन्। उनले भने, ‘त्यसमा हामी संवेदनशील छौँ।’
अध्यक्ष सुवेदीले बैठकमा साँच्चिकै आन्दोलन अब सुरु हुने बताए। उनले आन्दोलनमा आउन बाँकी रहेका शिक्षकहरूलाई काठमाडौँ आउने वातावरण बनाइने पनि बताए।
साथै उनले कक्षा १२ को परीक्षा कर्मचारीको भरमा चल्न नसक्ने बताए। ‘कर्मचारीको भरमा परीक्षा चल्दैन। हामी आन्दोलनको यस्तो महाअभियानमा साथ दिनुहुन्छ कि हुँदैन भनेर कर्मचारीसँग पनि कुरा गर्छौँ’, सुवेदीले भने। शिक्षा मन्त्री विद्या भट्टराईले आफैंभित्रबाट सहयोग जुटाउन नसकेका कारण राजीनामा दिएको उनको भनाइ छ।
नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले बैठकमा सम्बोधन गर्दै अब पछाडि फर्किने छुट नरहेको बताएकी थिइन्। ‘जित्छौँ हाम्रै कारणले जित्छौँ, हार्छौँ हाम्रै कारणले हार्छौँ’, पराजुलीले भनिन्।