महासंघ अध्यक्ष सुवेदीले भने- लक्ष्य प्राप्त गरेरै छाड्छौँ

हिमाल प्रेस १० वैशाख २०८२ १०:०८
536
SHARES
महासंघ अध्यक्ष सुवेदीले भने- लक्ष्य प्राप्त गरेरै छाड्छौँ

काठमाडौँ- देशभरका शिक्षक र विद्यालय कर्मचारीले काठमाडौँमा जारी राखेको आन्दोलन तीन साता भएको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा मंगलबार पनि शिक्षकहरूले काठमाडौँको नयाँबानेश्वर-माइतीघर सडकमा प्रदर्शन गरे। उनीहरू शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन्।

शिक्षकहरूले आन्दोलन नरोक्ने भएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले लक्ष्य प्राप्त गरेरै छाड्ने बताए। काठमाडौँको माइतीघर-नयाँ बानेश्वर सडकमा जारी आन्दोलनको २१ औँ दिनको सभामा सम्बोधन गर्दै उनले लक्ष्य प्राप्त गर्नका लागि अझै सशक्त भएर अघि बढ्ने बताएका हुन्।

महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षा ऐनका लागि सडक आन्दोलन भइरहेको छ। महासंघले २०७५, २०७८ र २०८० सालमा सरकार र महासंघसँग भएका सहमतिअनुसार अविलम्ब शिक्षा ऐन जारी गर्न माग गरेको छ।

महासंघको आन्दोलन लम्बिदै जाँदा भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण प्रभावित भइरहेको छ। महासंघको आन्दोलनकै बीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिइन्। शिक्षकले उठाएका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले असहयोग गरेपछि भट्टराईले राजीनामा दिएको राजनीति र शिक्षा वृत्तमा चर्चा छ।

महासंघ अध्यक्ष सुवेदीले पनि भट्टराईको राजीनामासँग महासंघको कुनै सरोकार नभएको प्रतिक्रिया दिए। उनले महासंघले कसैलाई नचिन्ने र कसैलाई नसुन्ने बताए।

उनले भने, ‘नेतृत्वले कसैलाई सुन्दैन। नेतृत्वले कसैलाई चिन्दैन। हामी केबल नेपाली शिक्षक कर्मचारीलाई सुन्छौँ। विद्यार्थी, अभिभावकलाई सुन्छौं। बाँकी कोहीसँग हामीलाई सरोकार छैन। हामी आमशिक्षक कर्मचारीको पीडाको प्रतिनिधित्व गर्छौँ। विद्यार्थीको समस्याको प्रतिनिधित्व गर्छौँ। विद्यालय शिक्षालाई अग्रगमनतर्फ लैजान, नयाँ बाटोमा लैजान हामी महाअभियानमा छौँ। त्यसैले यो अभियानमा साथ दिन विद्यार्थी र अभिभावकज्यूहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु।’

अध्यक्ष सुवेदीले आन्दोलन बलियो र प्रभावकारी बनाउने रणनीतिमा महासंघ लागेको बताए। उनले आन्दोलनमा डटिरहन शिक्षक कर्मचारीहरूलाई अनुरोध गरे। अन्य शिक्षक कर्मचारीलाई पनि आन्दोलनमा सहभागी हुन अपिल गरे। उनले भने, ‘तपाईँ हामी एक ठाउँमा रह्यौँ भने दुनियाँको कुनै तागतले हामीलाई दबाउन सक्दैन। हामी हाम्रो लक्ष्य प्राप्त गरेरै छाड्छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast