रोजगारीका लागि चैतमा करिब ७४ हजार विदेशिए

हिमाल प्रेस ८ वैशाख २०८२ २१:१४
8
SHARES
रोजगारीका लागि चैतमा करिब ७४ हजार विदेशिए

काठमाडौँ– चैत महिनामा ७३ हजार ४०३ जना वैदेशिक रोजगारीमा विभिन्न देश गएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत महिनाको मासिक विवरणमा पुरुष ६५ हजार ५६७ र महिला सात हजार ८३६ जना रोजगारीको खोजीमा ११४ देश गएका हुन्।

गत फागुनमा ६८ हजार ९६३ जना श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्यांकमा छ। यो संख्या चैतमा झण्डै साढे चार हजारले बढेको विभागले जनाएको छ।

चैत महिनामा नेपाली श्रमिकहरुको पहिलो गन्तव्य यूएई बनेको छ। पछिल्लो समय नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बनेको यूएईमा २३ हजार ६७१ जना चैत महिनामा श्रम स्वीकृति लिएर गएका छन्। यूएईपछि साउदी अरेबियामा १४ हजार ७७ जना गएको विभागले जनाएको छ।

यसैगरी तेस्रो नम्बरमा परेको कतारमा ११ हजार १४५ जना गएका छन्। चैतमा मलेसिया पाँच हजार ३४१ जना श्रम स्वीकृति लिएर गएको विभागको तथ्यांकमा छ।

यस महिना कुवेतमा चार हजार ५७०, रोमानियामा दुई हजार ३४६, जापानमा एक हजार ७१२, दक्षिण कोरियामा एक हजार ४ सय ९८ जना, बहराइनमा एक हजार ३२३ जना र साइप्रसमा एक हजार ४९ जना गएको विभागले जनाएको छ।

चैत महिनामा जिटुजी प्रणालीमार्फत एक हजार ३१८ जना दक्षिण कोरिया रोजगारीका लागि पुगेका छन्। जसमा एक हजार १७० पुरुष र १४८ जना महिला रहेका छन्। यता इजरायल जिटुजीमार्फत नै २१६ जना गएको तथ्यांक छ।

जसमा १३८ महिला र ७८ पुरुष रहेका छन्। चैत महिनामा वैदेशिक रोजगारीका लागि जानेमध्ये २९ हजार १८५ जना म्यानपावर कम्पनीमार्फत र १० हजार ४३५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८२ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast