निलम्बित कोषाध्यक्ष पक्राउ परेपछि जनमतमा खैलाबैला

हिमाल प्रेस ८ वैशाख २०८२ २०:०२
82
SHARES
निलम्बित कोषाध्यक्ष पक्राउ परेपछि जनमतमा खैलाबैला

काठमाडौँ- अनुशासन समितिको कारबाहीमा परेर निलम्बित भएका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेपछि जनमत पार्टीभित्र खैलाबैला मच्चिएको छ।
ललितपुर प्रहरीले सोमबार निलम्बित कोषाध्यक्षलाई नियन्त्रणमा लिएपछि जनमत पार्टीभित्र खैलाबैला मच्चिएको हो।

ललितपुर प्रहरीले यादवलाई सप्तरीबाट ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो। प्रहरीले ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उनलाई प्रक्राउ गरे पनि जनमत पार्टीका अध्यक्ष सीके राउतले रिसिइवी साँधेको आरोप लगाइएको छ।

यादवले काठमाडौँको इमाडोलमा रहेको घर पार्टीको नाममा नामसारी गर्न नमानेको, हरहिसाबमा अनियमितता गरेकोलगायतका आरोप लगाउँदै जनमत पार्टीले ललितपुर प्रहरीमा ठगी तथा आपराधिक विश्वासघात कसुरमा जाहेरी दिएको थियो।

पार्टीले इमाडोलमा बनाएको घर कोषाध्यक्ष यादवकी पत्नी ललितादेवी यादवको नाममा छ। त्यस्तै पार्टीकै लेवीबाट जनकपुरधाम–८ बलवाटोलमा बनेको घर पनि कोषाध्यक्ष यादवकी पत्नीकै नाममा रहेको जनमतका नेताहरूको भनाइ छ। जनमतका अध्यक्ष राउत बस्दै आएको जनकपुरस्थित घर कोषाध्यक्ष यादवले तीन महिनाअघि खाली गराइदिएको प्रवक्ता शरतसिंह यादवले बताए।

प्रवक्ता यादवले काठमाडौँको इमाडोलस्थित घरमा कोषाध्यक्ष यादवले आफ्नो २४ लाख लगानी रहेको र ब्याजसहित ४० लाख दाबी गरेपछि पार्टीले तिरिसकेको बताए। तर पनि उनले यो घर पार्टीको नाममा दर्ता गर्न नमानेको उनको भनाइ छ।

तर, जनमतका कतिपय नेताहरू अध्यक्ष राउतले इमाडोलस्थित घर आफ्नो दाजु जयकान्त राउतको नाममा नामसारी गर्न दिएको निर्देशन नमानेपछि यादवमाथि रिसिइबी साँधिएको दाबी गर्छन्।

अध्यक्ष राउत र कोषाध्यक्ष यादवबीच विगतमा निकट सम्बन्ध रहे पनि पछिल्लो संसदीय निर्वाचनदेखि ‘टकराव’ बढेको नेताहरूको भनाइ छ। यादवले पाउनुपर्ने टिकट राउतले दाजु जयकान्तलाई दिएपछि दुवै जनाबीच विवाद सुरू भएको थियो।

दाजुलाई टिकट दिएपछि अनुशासन समितिका अध्यक्षसमेत रहेका उपाध्यक्ष दीपककुमार साह, कोषाध्यक्ष यादवसहितका नेताहरू विरोधमा उत्रिएका थिए। उपाध्यक्ष साहमाथि पनि अध्यक्ष राउतले केही दिनअघि कारबाहीको डन्डा चलाइसकेका छन्। अहिले कोषाध्यक्ष यादव पक्राउ पर्नु पनि त्यसकै सिलसिला रहेको साहको दाबी छ।

साहले कोषाध्यक्ष यादवको गिरफ्तारीप्रति आपत्ति जनाउँदै पार्टी नेतृत्वमा देखिएको वित्तीय अनियमितता, शक्ति दुरुपयोग र षडयन्त्रको छानबिन गर्न माग गरेका छन्।

उनले जनकपुरस्थित घर (मधेश आश्रम) निर्माणमा अध्यक्ष राउतको सचिवालयबाट आर्थिक प्रक्रिया शून्य रहेको दाबी गरेका छन्। साहले जनकपुरस्थित घर कोषाध्यक्ष यादव र प्रदेशसभा सदस्य वसन्त कुशवाहाको व्यक्तिगत खर्चमा निर्माण भएको बताएका छन्। जग्गा किन्नेदेखि निर्माणसम्म आफू प्रत्यक्ष संलग्न भएको उनको भनाइ छ।

पूर्वउपाध्यक्ष साहले स्वतन्त्र मधेश गठबन्धनको समयमा यादवले व्यक्तिगत सवारी साधन र पेशागत अवसर त्याग्दै कतारमा सबैभन्दा ठूलो संगठन निर्माण गरेको उल्लेख गरेका छन्।

त्यस्तै उनले संसदीय टिकट विवादसम्बन्धी प्रसंग पनि कोट्याएका छन्। सप्तरी संसदीय निर्वाचन क्षेत्र नम्बर १ बाट यादवलाई टिकट नदिइ संगठनमा खासै योगदान नदिएका आफ्ना दाजु जयकान्तलाई अध्यक्ष राउतले उम्मेदवार बनाएपछि पार्टीको आन्तरिक वातावरण झनै बिग्रिएको साहले दाबी गरेका छन्।

साहले समानुपातिकतर्फ नाम समावेश गराउन अध्यक्ष राउतले कोषाध्यक्ष यादवसँग नगद माग गरेको आरोप लगाएका छन्। करोडौँ खर्चेर जनकपुरमा निर्माण गरिएको घरपछि पनि समानुपातिक सूचीमा समावेश गराउन उनीसँग ५० लाख नगद माग गरिएको साहको भनाइ छ।

पार्टीको नाममा संकलन गरिएको रकमबाट सप्तरी महादेवामा निर्माण गरिएको पक्की घरको स्रोत र उपयोगबारे छानबिन गर्न उनले माग गरेका छन्। त्यस्तै साहले काठमाडौँको इमाडोलमा बनाइएको घर र पार्किङका लागि खरिद गरिएको जग्गामा भ्रष्टाचार भएको भन्दै छानबिन गर्नुपर्ने बताएका छन्।

उनले पार्टी कोषाध्यक्षको नाममा कुनै पनि बैंक खाता नखोली अवैध रूपमा आर्थिक कारोबार भएको उनको भनाइ छ।

केन्द्रीय अनुशासन समिति सम्हाल्दै आएका साहले लगाएका आरोपहरूलाई भने जनमत पार्टीले खारेज गरेको छ। जनमतका प्रवक्ता शरदसिंह यादवले निलम्बित उपाध्यक्ष साहले लगाएका सबै आरोपहरू झुटा रहेको बताएका छन्।

अध्यक्ष राउत बस्दै आएको जनकपुरधामको ‘मधेश आश्रम’ र इमाडोलको घर कोषाध्यक्ष यादवले आफ्नी श्रीमती ललिताको नाममा राखेको र पार्टीको नाममा नामसारी गर्न भनेपछि पचाउन खोजेको प्रवक्ता यादवले दाबी गरेका छन्।

त्यस्तै ६० भन्दा बढी कार्यकर्ताको लेवी र लगानीमा कोटेश्वरमा प्रवासी होटल खोले पनि हिसाब गरेर सल्टाउन भनेपछि यादव तयार नभएको उनले बताएका छन्।
पार्टीले निर्णय गरेर उजुरी दर्ता गरी ठोस प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरू गर्दा निलम्बित कोषाध्यक्ष यादव र उपाध्यक्ष साह किन छटपटाउनुपरेको भन्दै उनले प्रश्न गरेका छन्।

प्रवक्ता यादवले तत्कालीन उपाध्यक्ष साहले पार्टी फुटाउन स्कोर्पियो गाडी र ठूलो रकम अन्य स्रोतबाट बुझेको, जासुसको रूमा पार्टीमा खटिएको, सरुवा बढुवा गरिदिने भन्दै पैसा उठाएको, पार्टीमा गुटबन्दी गरेको, जनमत पार्टीलाई एउटासमेत नहालेको, पार्टीविरूद्ध षडयन्त्र गरेपछि कारबाहीमा परेर निलम्बित भएको बताएका छन्।

त्यस्तै साहले पार्टीको लेटरहेड प्रयोग गरी देशविदेशमा विभिन्न लाभ लिएको तथा इमेल पठाई इन्जिनियर, डाक्टर, आप्रवासी नेपाली तथा अन्य व्यवसायीबाट पैसा उठाए पनि पार्टीलाई नबुझाएको उनले उल्लेख गरेका छन्।

प्रवक्ता यादवले उपाध्यक्ष साहले ६ महिनाका लागि मन्त्री बनाइदिन दबाब दिँदै पार्टी ध्वस्त पार्ने धम्कीसमेत दिएको जिकिर गरेका छन्।

प्रकाशित: ८ वैशाख २०८२ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast