शिक्षक आन्दोलनप्रति ओलीको कटाक्ष, मन्त्री भट्टराईको राजीनामा, के होला ऐन?

हिमाल प्रेस ८ वैशाख २०८२ १८:२८
2.5k
SHARES
शिक्षक आन्दोलनप्रति ओलीको कटाक्ष, मन्त्री भट्टराईको राजीनामा, के होला ऐन?

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन गर्ने तर वार्तामा नबस्ने भनेर कटाक्ष जारी राखेका बेला शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले हिमालप्रेसलाई बताए।

ती सदस्यले भने, ‘मन्त्री भट्टराईले सोमबार राजीनामा बुझाउनुभएको छ।’ प्रधानमन्त्री ओलीले राजधानीमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै शिक्षकलाई वार्तामा बोलाएका हुन्।

चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरू वार्तामा गएका छैनन्। उनीहरू विद्यालय शिक्षा विधेयक तत्काल संसद्बाट ऐनका रूपमा पारित हुनुपर्ने अडानसहित आन्दोलनमा छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन सोमबार २० दिन पुगेको छ। ओलीले ऐन लिनका लागि सडकमा यति धेरै मानिसहरू नचाहिने भन्दै शिक्षकहरूको कटाक्ष गरेका हुन्।

‘ऐनबारे संसदीय उपसमितिमा छलफल भइरहेको छ। समितिमा आउँछ। त्यसपछि मूल हाउस (सदन) मा आउँछ। संसद्बाट पारित हुन्छ, ऐन त आउँछ नै’, ओलीले भने। अहिलेसम्म आएका ऐन सडकमा मानिस भेला भएर नआएको पनि बताए।

ओलीको प्रश्न छ, ‘त्यसै आउने ऐनका लागि हामीले ऐन ल्यायौँ भन्ने पार्नका लागि यत्रो दुःख किन गर्नुपर्‍यो?’ ओलीले शिक्षक आन्दोलनका नाममा कहिले जादु देखाएको, कहिले कविता सुनाएको, कहिले गीत गाएको भनेर आलोचना गरे। शिक्षकहरूले पहिला चर्का कुरा गरेको तर अब फर्किन कठिन हुने पनि बताए।

प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई आन्दोलनबाट फर्किने बाटो मिलाउन आग्रह गरेका छन्। उनले सरकार ऐन ल्याउन सकारात्मक रहेको बताए। उनले वार्तामा आएर सहमति गरेर फर्कन आग्रह गरेका छन्। सम्भव भएजति माग पूरा गर्ने आश्वासन पनि ओलीले दिएका छन्।

प्रधानमन्त्रीले भने, ‘ऐन लिएर जाने भन्नुभएको छ। ऐन बोक्न सडकमा यत्रोविधि मान्छे चाहिन्छ?’ विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा छ। समितिले एमाले सांसद् छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति बनाएर विधेयकका बुँदाबुँदामा छलफल गर्दै आएको छ। उपसमितिले छलफल सकेर प्रतिवेदन पेस गरेपछि प्रतिनिनिधिसभामा पठाइने तयारी समितिको छ।

समितिका सभापति अम्बरबहादुर थापाले शिक्षामन्त्रीले राजीनामा दिँदैमा समितिको काममा कुनै अवरोध नहुने बताए। उनले भने, ‘मन्त्रीले राजीनामा दिँदैमा व्यवस्थापिकाको काममा कुनै अवरोध गर्दैन। समिति र उपसमितिले आफ्नो कार्यतालिकाअनुसार छलफल गरेर टुंग्याउँछ।’

आन्दोलनरत नेपाल शिक्षक महासंघको एक घटक एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको राजीनामा मागेको नभई ऐन मागेको बताए।

उनले मन्त्रीले राजीनामा दिँदैमा शिक्षकहरूको आन्दोलन नरोकिने बताए। उनले भने, ‘हाम्रो माग अग्रगामी शिक्षा ऐन जारी हुनुपर्छ भन्ने हो। ऐन नलिई हामी जाँदैनौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast