पूर्वपञ्चले नसकेपछि राप्रपाको सहारा खोज्दै ज्ञानेन्द्र

किरण पौडेल ८ वैशाख २०८२ २१:४३
32
SHARES
पूर्वपञ्चले नसकेपछि राप्रपाको सहारा खोज्दै ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ- देश संघीय गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गरेसँगै राज्यसत्ता सञ्चालनबाट किनारा लागेका पूर्वराजा ज्ञानेन्द्र शाहमा फेरि नारायणहिटी फर्कने ‘अस्वाभाविक महत्वकांक्षा’ जागृत भएको छ। दाजु वीरेन्द्र शाहको अवसानपछि दोस्रोपटक राजगद्दीमा बस्ने अवसर पाएका उनले तत्कालीन संविधानको घाँटी निमोठेर देशमा ‘कू’ गरेको धेरैले बिर्सिएका छैनन्।

ज्ञानेन्द्रले त्यस बेला सत्ता कब्जा गरे नै, २०४६ सालको पहिलो जनआन्दोलनपछि नेपाली नागरिकले पाएको वाक् स्वतन्त्रतासमेतलाई निमोठिदिएका थिए।  यहाँसम्म कि इतिहासमै पहिलोपटक सेना र सुरक्षाकर्मी सञ्चारगृहको समाचार कक्षमा प्रवेश गरे। ज्ञानेन्द्रकै निर्देशनमा स्वतन्त्र प्रेसमाथि धावा बोलियो। यसबाहेक २०४७ सालमा जारी भएको संविधानलाई निलम्बन गरी उनले आफूखुसी राज्यसत्ता सञ्चालन गरे, पुरानै पञ्चायती शैलीमा।

राज्यसत्ता सञ्चालन गर्ने उनको त्यो ‘क्रूर’ शैली त्यहीबेला नेपाली जनताले मन पाएका थिएनन्। भित्रभित्रै गुम्सिइरहेको नेपाली जनताको आवाज विस्फोट भयो। तत्कालीन सात दलको नेतृत्वमा २०६२/६३ मा सुरु भएको दोस्रो जनआन्दोलनमा लाखौँ नेपाली नागरिक सहभागी भए। भूमिगत रूपमा सशस्त्र संघर्ष गरिरहेको माओवादीले पनि साथ दियो, त्यो आन्दोलनलाई। सारा सञ्चार जगत पनि त्यो आन्दोलनमा होमियो।

सत्ता सञ्चालन गर्ने ज्ञानेन्द्रको त्यो ‘क्रूर’ शैलीको विरोधमा गणतन्त्रको आवाज बलियो हुँदै गयो। लोकतन्त्रको पुनर्हाबलीका साथै गणतन्त्र र संघीयताको माग गर्दै सुरु भएको दोस्रो जनआन्दोलनले सफलता पायो। अनि नारायाणहिटीबाट बाहिरिन बाध्य भएका थिए राजा ज्ञानेन्द्र।

पूर्वराजाको हैसियतमा पुगेर सामान्य नागरिकसरह जीवनयापन गरिरहेका तिनै ज्ञानेन्द्रमा यतिबेला फेरि नारायणहिटीमा फर्किने हुटहुटी जागृत भएको छ। हजारौँ नेपाली नागरिकको बलिदानपछि स्थापना भएको संघीय गणतन्त्रात्मक व्यवस्था उल्टाएर उनी राजसंस्था ब्युँताउने प्रयासमा देखिएका छन्। केही नेताका कारण बदनाम भइरहेको संसारकै सर्वोत्तम शासकीय प्रणाली गणतन्त्र अन्त्य गरेर पुनःराजसंस्था बहाली गर्न जोडबल गरिरहेका छन्, ज्ञानेन्द्र। अहिलेकै अवस्थामा शासकीय स्वरूपको यो ठूलो परिवर्तनका लागि उनले पूर्वपञ्चहरूलाई अगाडि सारेका छन्।

नवराज सुवेदी, डा.जगमान गुरुङ, दुर्गा प्रसाईहरू राजसंस्था पुनःस्थापनाको अभियानमा अगाडि सर्नुले पनि पूर्वराजा ज्ञानेन्द्रको ‘अस्वाभाविक महत्त्वाकांक्षा’ लाई पुष्टि गरेको छ। राजसंस्था पुनःस्थापनाका लागि पूर्वपञ्चहरूको साथ र सहयोगमात्रै पर्याप्त नभएको थाहा पाइसकेका उनले अब राजा समर्थक राजनीतिक दलहरूको साथ खोज्न थालेका छन्।

खास गरेर चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएपछि पूर्वराजा ज्ञानेन्द्र राप्रपाको साथ पाउन आतुर देखिएका हुन्। यसअघि आफू पर्दा पछाडि बसेर पूर्वपञ्चकै सहयोगमा आफ्नो पक्षमा आन्दोलन चर्काउनेमा ढुक्क देखिएका उनी सम्भव नदेखेपछि राजनीतिक दलको सहयोग लिन चाहिरहेका छन्।

तीनकुनेको हिंसात्मक घटना ज्ञानेन्द्रकै योजनामा बुनिएको दाबी अन्य राजनीतिक दल र सरकारले गर्न थालेपछि राजावादीका रूपमा चिनिएका दलहरूसँग उनको अपेक्षा बढेको छ।

यही क्रममा उनले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनेसहित केही नेतालाई निर्मल निवास बोलाएर ‘लन्च मिटिङ’ गरेका थिए। ‘लन्च मिटिङ’ मा लिङदेनका साथै पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र ज्ञानेन्द्र शाही सहभागी थिए।

चैत १५ को घटनापछि ज्ञानेन्द्रले राप्रपालाई पत्याएका थिएनन्। व्यवस्था परिवर्तन भइदिए राप्रपाका नेताहरू आफ्नो नियन्त्रणमा नरहने भय ज्ञानेन्द्रलाई थियो। तर पूर्वपञ्चहरूकै भरमा राजसंस्था फर्काउने अभियान सम्भव नदेखेपछि उनले राप्रपालाई गुहार लगाएका हुन्।

पूर्वपञ्चहरूको नेतृत्वमा भएको तीनकुने प्रदर्शन हिंसक बनेको र त्यसको दोष लागेपछि यो आरोपबाट जोगिन ज्ञानेन्द्रले राप्रपाको साथ लिएर राजसंस्था पुनःस्थापनाको अभियानलाई अगाडि बढाउन चाहेको जानकारहरू बताउँछन्।

‘लन्च मिटिङ’ मा सहभागी राप्रपाका एक नेताले अब राजतन्त्रको पक्षमा हुने आन्दोलनमा राप्रपाका नेताको सहयोग खोजेका छन्। ती नेताका अनुसार राजासमर्थित सबै एक हुनुपर्छ भन्ने चाहना ज्ञानेन्द्रको छ।

‘लन्च मिटिङ’का लागि निर्मल निवास पुगेका राप्रपाका नेताहरूसँग पूर्वराजा ज्ञानेन्द्रले देशको पछिल्लो राजनीतिक अवस्था र राजतन्त्र पक्षधर आन्दोलनको विषयमा जानकारी लिएका थिए। राजतन्त्रको पक्षमा राम्रो वातावरण बनेको ब्रिफिङ गरेका राप्रपाका नेताहरूले राजतन्त्र पुनःस्थापनाको आन्दोलनमा नसमेटिएकोमा गुनासो गरेका थिए।

राजसंस्था पुनर्स्थापना भएर फेरि नारायणहिटीको गद्दीमा बस्ने ‘उत्कट’ चाहना बोकेका पूर्वराजा ज्ञानेन्द्र पूजाआजा, मठमन्दिरको दर्शनलगायतका कार्यक्रम बनाएर सर्वसाधारण नागरिकसँग पहुँच बढाउने काम निरन्तर गर्दै आएका छन्। कहिले नयाँ वर्ष त कहिले दसैँको शुभकामना दिएर आफ्नो ध्येय सार्वजनिक गरिरहेका छन् उनले। पछिल्लो समय नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गरेका ज्ञानेन्द्रले राजसंस्थाप्रति आफ्नो मान्यता कायमै रहेको प्रस्ट पारेका छन्।

सन्देशमा जिम्मेवारी लिनबाट पन्छिएका उनले तीनकुने घटनामा भएका मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका थिए। त्यस्तै यसअघिका शुभकामना सन्देशहरूमा आफूलाई पूर्वराजाको रूपमा चिनाउँदै आएका ज्ञानेन्द्रले यसपालि श्री ५ महाराजाधिराज उल्लेख गरेका छन्। राजसंस्था पुनःस्थापनाका लागि गठन भएको आन्दोलन समितिमा आफ्नो संलग्नता अस्वीकार गरे पनि यसका पछाडि ज्ञानेन्द्रकै हात रहेको जानकारहरूको भनाइ छ।

पूर्वराजावादी एवम् पूर्वमन्त्री राधाकृष्ण मैनाली पूर्वराजा ज्ञानेन्द्रकै चाहनाबमोजिम नवराज सुवेदी जनआन्दोलन समितिको संयोजक तोकिएको बताउँछन्। त्यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि ज्ञानेन्द्रकै आशीर्वादबाट आन्दोलनको जनकमान्डर  बनेको उनको दाबी छ।

‘नवराज सुवेदी जनआन्दोलन समितिको संयोजक बन्नुमा पूर्वराजाकै चाहना छ। दुर्गा प्रसाई कमान्डर तोकिनुमा पनि उनकै निर्देशन रहेको जस्तो लागेको छ,’ मैनाली भन्छन्, ‘प्रसाईको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्यो। त्यसपछि ज्ञानेन्द्रलाई सकस परेको छ। त्यसैले अहिले नेताहरूको साथ खोजेका छन्।’

प्रसाईले चैत १४ गते निर्मल निवास पुगेर ज्ञानेन्द्रसँग भेट गरेका थिए। यसकारण पनि प्रसाईलाई उनकै निर्देशनमा आन्दोलनको कमाण्डर तोकिएको आकलन गरिएको छ।

राप्रपा नेता विक्रम पाण्डेका अनुसार पछिल्लो भेटका क्रममा पूर्वराजा ज्ञानेन्द्रले झडप तथा तोडफोड नगरी शान्तिपूर्ण ढंगबाट आन्दोलनका कार्यक्रम अगाडि बढाउन अनुरोध गरेका छन्। उनी भन्छन्, ‘यसअघिका कार्यत्रममा भएका घटनामा समेत उहाँले दुःख व्यक्त गर्नुभयो। त्यस्ता घटना हुन दिनु हुन्न भन्ने उहाँको चाहना छ।’

राजसंस्था पुनःस्थापनाका लागि हुने आन्दोलनका क्रममा हिंसाको बाटो रोज्न नहुने पूर्वराजाले प्रस्ट पारेको पाण्डेले बताए। पूर्वराजा ज्ञानेन्द्रलाई उद्धृत गर्दै उनी भन्छन्, ‘सुरक्षाकर्मीलाई पनि राम्रो व्यवहार गर्नुपर्छ, हिंसाको बाटो रोज्नु हुन्न।’

पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेताहरूसँगको भेटमा जनआन्दोलन समिति आफूले नबनाएको भन्दै आवश्वस्त पारेका थिए। राजसंस्था पुनःस्थापनाको सन्दर्भमा राप्रपाका अध्यक्ष लिङदेन र राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाको एजेन्डा समान छ। फरक पार्टीको नेतृत्व गरिरहे पनि लिङदेन र थापा राजा फर्काउनुपर्छ भन्नेमा एकमत छन्। तर पनि अभियान भन्ने छुट्टाछुट्टै चलाइरहेका छन्। यसपछाडिको कारण हो–यो अभियानको जस दुवैले एकल ढंगबाट लिन चाहनु। जसकै लडाइँका कारण लिङदेन र थापा एक ठाउँमा उभिन सकेका छैनन्। त्यसैले दुवैलाई नजिकबाट नियालिरहेका ज्ञानेन्द्र पत्याउन सकेका छैनन्।

पूर्वमन्त्री मैनालीका अनुसार लिङदेन र थापाहरूलाई पूर्वराजाले पत्याएका छैनन्। उनको रोजाइँमा अझै पूर्वपञ्च र दरबारियाहरू नै रहेको मैनालीको भनाइ छ।
‘ज्ञानेन्द्रको रोजाइमा पूर्वपञ्च र दरबारियाहरू नै पर्छन्। लिङदेन  र धवलहरूसँग उनी विश्वस्त छैनन्,’ मैनाली भन्छन्।

पूर्वराजा ज्ञानेन्द्रले लिङदेनलाई ‘छाती ठूलो पार्न’ सुझाव दिएका थिए। अध्यक्ष लिङदेनसँग उनले भनेका थिए,‘मिलाएर सबै जना अघि बढ्नुहोला। मिलाएर लग्नुहोस्।’
राजसंस्था पुनः स्थापनाका लागि बनेको समितिले विभिन्न कार्यक्रम गर्दै आएको छ भने राप्रपाले आफ्नो ढंगबाट कार्यक्रम गरिरहेको छ। पूर्वराजाले यस्ता कार्यक्रमहरू सामूहिक रूपमा गर्न अनुरोध गरेका छन्।

ज्ञानेन्द्रले राजसंस्था पुनःस्थापना समितिभित्रै एकजुट हुन राप्रपा नेताहरूलाई सुझाव दिए। लिङदेनले आफू पनि पूर्वराजाकै नेता भएको जवाफ दिएका थिए। ‘म पनि हजुरकै मान्छे हुँ नि, सरकार!,’ उनले भनेका थिए।

सुवेदी नेतृत्वको समितिले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राजावादीभित्रै मनमुटाव बढेको छ। तीनकुने घटनाको प्रमुख योजनाकार भनिएका प्रसाईँसहित राप्रपाका केही नेताहरू प्रहरी हिरासतमा छन्। सुवेदीलाई घरभित्रै ‘नजरबन्द’ बनाइएको छ। यसबीचमा राजसंस्था पुनःस्थापनासँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना भए पनि राजावादी नेताहरू एकै ठाउँमा देखिएनन्।

तीनकुने घटनामा राजावादी दलका अध्यक्षहरू गएनन् भने राप्रपाले गरेको कार्यक्रममा राजसंस्थानिकट अन्य समूहका नेताहरूलाई निम्तो दिइएन। आन्दोलन समितिले गरेको कार्यक्रममै राप्रपा अध्यक्ष लिङदेन देखिएनन्। एउटै एजेन्डा बोकेर फरक ढंगबाट अगाडि बढिरहेकोमा पूर्वराजा ज्ञानेन्द्रले लिङदेनसँग असन्तुष्टि व्यक्त गरेका थिए।

राप्रपा अध्यक्ष लिङदेनले राजसंस्था पुनःस्थापनाका लागि जनआन्दोलन समिति बनेको बारे आफूलाई जानकारी नभएको बताएका थिए। राप्रपा नेताहरूका अनुसार जनआन्दोलन समितिकै नेतृत्वमा सबै राजावादी एक हुनुपर्नेमा ज्ञानेन्द्रको जोड छ।

राप्रपाका नेताहरूसँग पूर्वराजा ज्ञानेन्द्रले भेटेको यो पहिलोपटक होइन। उनले यसअघि २०८० पुस १७ गते भैरहवामा राप्रपा अध्यक्ष लिङदेनसहित नेताहरू दीपक सिंह, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र र धवलशमशेर राणासँग भेट गरेका थिए। त्यसअघि २०७९ चैत ८ गते दमका उनले लिङदेन, धवलशमशेर, प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रलाई भेटेका थिए।

पटकपटक भेटर छलफल गरिरहे पनि लिङदेनसहितका नेताहरू ज्ञानेन्द्रसँग असन्तुष्ट छन्। सुवेदी नजरबन्दमा परेपछि समितिको कार्यवाहकका संयोजकमा जगमान गुरुङ तोकिएका छन्। गुरुङले बोलाउँदा लिङदेन जाने गरेका छैनन्।

लामो समयदेखि राजसंस्था र राजाको वकालत गर्दै आएका राप्रपा नेपालका अध्यक्ष थापा पनि ज्ञानेन्द्रको रोजाइमा पर्न सकेका छैनन्। स्रोतका अनुसार पूर्वराजाले अझै थापालाई भेट्न चाहेका छैनन्। थापाले राप्रपाको अधिवेशनमा पूर्वराजाकै कारण आफूले अध्यक्षमा हार बेहोर्नुपरेको सार्वजनिक रूपमै आरोप लगाएका थिए। महाधिवेशनपछि पूर्वराजाको कडा विरोधीको रूपमा प्रस्तुत भएका थिए पछिल्लो समय पुनः राजसंस्था पुनर्बहालीको अभियानमा अगाडि बढेका छन्।

प्रकाशित: ८ वैशाख २०८२ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast