शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता

हिमाल प्रेस ८ वैशाख २०८२ १७:१४
136
SHARES
शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता

काठमाडौँ- नेपालमा जारी शिक्षक आन्दोलनप्रति विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त भएको छ। पेसागत महासंघ नेपालका अध्यक्ष तथा प्रेसिडेन्सियल काउन्सिल विश्व शिक्षक महासंघका सदस्य प्रेमलकुमार खनालकाअनुसार विश्वका विभिन्न देशमा रहेका शैक्षिक संघसंगठनहरूले नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐनका लागि जारी आन्दोलनप्रति सहयोग र ऐक्यबद्धता जनाएका हुन्।

शिक्षक आन्दोलनले देशको शैक्षिक क्षेत्र अस्तव्यस्त बनेको छ। त्यसलाई दृष्टिगत गर्दै शिक्षकहरूका माग यथाशीघ्र पूरा गर्न विश्व ट्रेड युनियन महासंघ, विश्व शिक्षक महासंघ तथा विभिन्न देशका शिक्षक ट्रेड युनियनहरूले आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

विश्व ट्रेड युनियन महासंघ एसिया प्रशान्त क्षेत्रीय कमिटीले नेपाली शिक्षकको आन्दोलनमा पूर्ण समर्थन छ भनेको छ। नेपाली शिक्षक आन्दोलनमा श्रीलंका सरकारको श्रम उपमन्त्री तथा श्रीलंकाको सिलोन शिक्षक सेवा युनियनका महासचिव महेन्द्रा जयसिंहेले ऐक्यबद्धता जनाएका छन्।

श्रीलंकाको सिलोन शिक्षक सेवा युनियनबाट नेपालका शिक्षकहरू र नेपाल शिक्षक महासंघलाई हार्दिक ऐक्यबद्धता जनाइएको छ। विश्वका प्रगतिशील एवं समाजवादी शिक्षकहरूको अन्तर्राष्ट्रिय केन्द्र विश्व शिक्षक महासंघको २० औं अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपाली शिक्षक आन्दोलनलाई ऐक्यबद्धता जनाइएको छ।

ऐक्यबद्धता सन्देशमा भनिएको छ, ‘विश्व शिक्षक संघ महासंघको तर्फबाट नेपाल शिक्षक महासंघ, नेपाली शिक्षक र विद्यालय कर्मचारीहरूको सक्रिय नेतालाई हाम्रो गहिरो र हार्दिक शुभकामना व्यक्त गर्दछौं।’

गुणस्तरीय, समतामूलक र सबैका लागि पहुँचयोग्य शिक्षाको वकालत गर्दै शैक्षिक आन्दोलनको अग्रपंक्तिमा उभिएका नेपाल शिक्षक महासंघ र सबै नेपाली शिक्षाविद्हरूको निरन्तर प्रयासलाई हामी उच्च रूपमा स्वीकार र प्रशंसा गर्दछौँ। लोकतान्त्रिक मूल्यमान्यतामा आधारित वैज्ञानिक, धर्मनिरपेक्ष र सार्वजनिक शिक्षाको प्रवर्द्धनमा तपाईंहरूको अथक समर्पण विश्वभरका शिक्षक र ट्रेड युनियनवादीहरूका लागि शक्तिशाली उदाहरण हो।’

विश्व शिक्षक महासंघको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालमा शिक्षकहरूले सञ्चालन गरिरहेको आन्दोलनलाई पूर्ण समर्थन गरिएको छ।

ट्रेड युनियन इन्टरनेसनल पब्लिक सर्भिस एलाइडले ऐक्यबद्धता सन्देशमा उल्लेख गरेको छ, ‘विश्वभरका आफ्ना लाखौँ सदस्यहरूसँग सेवा सुरक्षा, वृत्ति विकास, रोजगारी सुरक्षा र ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने शिक्षा ऐन जारी गर्न माग गर्दै तीन हप्ताभन्दा बढी समयदेखि हड्तालमा रहेका नेपालका हजारौं शिक्षकहरूसँग ऐक्यबद्धता व्यक्त गर्दछ। सरकारले बारम्बार शिक्षकहरूले उठाएका मागहरूमा सहमति जनाए पनि कार्यान्वयन नगर्दा शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । TUI-PS&A नेपाल सरकारद्वारा जारी निरन्तर उत्पीडन, दमन र श्रमिक अधिकारको उल्लंघनको भर्त्सना गर्न चाहन्छ।’

ग्रिसको अल वर्कर मिलिट्यान्स फ्रन्टले ऐक्यबद्धता सन्देशमा उल्लेख गरेको छ, ‘सयौं ट्रेड युनियनहरू, महासंघहरू र ट्रेड सेन्टरहरूको तर्फबाट, ग्रीसका हजारौं कामदारहरूको तर्फबाट एकताको सन्देश पठाएका छौँ। आफ्नो अधिकारका लागि लडिरहेका नेपालका सबै शिक्षकहरूलाई ऐक्यबद्धता छ।

दक्षिण अफ्रिकाको शक्तिशाली शिक्षक तथा स्वास्थ्य युनियनकाले आफ्नो ऐक्यबद्धता सन्देशमा उल्लेख गरेको छ, ‘कृपया दक्षिण अफ्रिकाको राष्ट्रिय शिक्षा स्वास्थ्य र सहयोगी श्रमिक संघबाट न्यानो र भ्रातृ अभिवादन स्वीकार गर्नुस्। सेवा सुरक्षा, वृत्ति विकास र रोजगार सुरक्षाको लागि शिक्षा सुधारको लागि जारी हडतालमा साहसका साथ भाग लिइरहेका नेपालभरका हजारौं शिक्षकहरूसँग हामी बलियो ऐक्यबद्धतामा उभिएका छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast