
काठमाडौँ- निजामती सेवामा रहेका कर्मचारीहरुले दोहोरो सुविधा लिन नपाउने भएका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सोमबार उपसमितिले बुझाएको संघीय निजामती विधेयकको प्रतिवेदनमाथिको छलफलका क्रममा दोहोरो सुविधा लिन नपाउने गरी व्यवस्था गरिने सभापति रामहरि खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार निवृत्तिभरण, अन्य भत्ता वा राजनीतिक नियुक्ति पाएको पदको तलबमध्ये एक मात्र लिन पाउने र दोहोरो सुविधा लिइएको पाइए सरकारी बाँकीसरह असुलउपर गरिने व्यवस्था गरिने भएको छ। त्यस्तै निवृत्तिभरण पाएको व्यक्ति भ्रष्टाचार, सरकारी किर्ते, राज्यविरूद्धको अपराधमा संलग्न देखिए निवृत्तिभरण दिने पक्षमा समिति नरहेको सभापति खतिवडाले बताए।
बैठकमा एमाले सांसद रघुजी पन्तले भ्रष्टाचारमा मुछिएकाहरुलाई पनि निवृत्तिभरण दिनुपर्नेमा उपसमितिमा कुनै सहमति नभएको बताए। पन्तले उपसमितिको प्रतिवेदन पारित नै नभएको अवस्थामा समितिले अन्तिम रुप दिएपछि मात्रै सार्वजनिक गर्नुपर्नेमा जोड दिए।
कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले दोहोरो सुविधा लिन नपाउने कुरालाई कानुनमा स्पष्ट गर्नुपर्ने भएकाले उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिए। माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई निवृत्तिभरण नदिने नभई दोहोरो सुविधा भने रोक्नुपर्नेमा जोड दिएको स्पष्ट पारे।
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा उपसमितिले तयार गरेको प्रतिवेदनमाथि छलफल भएको हो। सरकारले २०८० साल फागुनमा उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो।