भारतीय विद्युतमन्त्री खट्टर नेपाल आउँदै, कोशी करिडोर प्रसारण लाइनको संयुक्त उद्घाटन गर्ने

हिमाल प्रेस ८ वैशाख २०८२ १५:१३
28
SHARES
भारतीय विद्युतमन्त्री खट्टर नेपाल आउँदै, कोशी करिडोर प्रसारण लाइनको संयुक्त उद्घाटन गर्ने

काठमाडौँ– भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार नेपाल भ्रमणमा आउने भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।

गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। उनी दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए।

मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मंगलबार संखुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन तथा २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।

उनले त्यही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृह र बाँध क्षेत्रको अवलोकन गर्ने प्रवक्ता देवले बताए।

मंगलबार नै नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने छ। दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा दुवै मन्त्रीले हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।

वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast