सडकमा हाम्रो उपस्थितिले उपसमितिले शिक्षा विधेयक छिट्टै टुंग्याउँदै छ : संयोजक पराजुली

हिमाल प्रेस ८ वैशाख २०८२ १०:४१
750
SHARES
सडकमा हाम्रो उपस्थितिले उपसमितिले शिक्षा विधेयक छिट्टै टुंग्याउँदै छ : संयोजक पराजुली

काठमाडौँ- नेपाल शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले लाखौं शिक्षक कर्मचारीहरू सडकमा आएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति उपसमितिले विद्यालय शिक्षा विधेयक–२०८० को काम द्रुत गतिमा गर्दै टुंग्याउन लागेको जानकारी प्राप्त भएको बताएकी छन्।

२०७५, २०७८ र २०८० सालमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिअनुसार शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै महासंघले गत चैत २० गतेदेखि काठमाडौँमा आन्दोलन जारी राखेको छ। महासंघको यो आन्दोलन आज २० औं दिनमा जारी छ।

संयोजक पराजुलीको भनाइमा विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिहरू सम्बोधन हुनेगरी शिक्षा ऐन जारी गराउने लक्ष्यका साथ हामी आन्दोलनमा होमिएका हौं।

आन्दोलनको तागतबाट विषयगत उपसमिति (शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति उपसमिति) ले द्रुत गतिमा शिक्षा विधेयकको बाँकी काम गरिराखेको र अन्तिम चरणमा पुगिराखेको अवस्था रहेको उनले बताइन्।

उनी भन्छिन्, ‘उपसमितिमा रहनुहुने माननीयज्यूहरू महासंघसँग भएका सहमति सम्बोधन गर्नुपर्छ भन्ने कुरामा सहमत भएको खबर प्राप्त भइरहेको छ। हाम्रो बढ्दो उपस्थितिका कारण शिक्षा विधेयकको बाँकी काम अब छिट्टै उपसमिति र समितिले टुङ्ग्याउने छ।’

वैशाख १२ गतेबाट सुरु हुने संसद्को बर्खे अधिवेशनको सुरुको दिनमा संसद् बैठकमा टेबुल गर्न र शिक्षा ऐन जारी गर्ने वातावरण निर्माण गर्न अझै शिक्षक कर्मचारीहरूको उपस्थिति बढाउनु पर्ने देखिएको पनि पराजुलीले बताइन्। उनले शैक्षिक आमहड्ताल पूर्ण रूपमा कार्यान्वयन गराउन शिक्षक तथा कर्मचारीहरूलाई अनुरोध गरेकी छन्।

आन्दोलनको पहिलो प्राथमिकता शिक्षा ऐन प्राप्ति नै भएकाले निरन्तरता, धैर्यता, अनुशासन र सहनशीलताले आम जनसमुदायकोमन जित्न सफल भएको संयोजक पराजुलीले बताइन्।

शिक्षक आन्दोलनलाई परिणाममुखी बनाउन नदिन शिक्षक कर्मचारी विरोधीहरूले केही मिडिया र पत्रपत्रिकाहरूलाई प्रयोग गरी भ्रामक, कपोलकल्पिक समचारहरू सम्प्रेषण गरी आन्दोलनलाइ कमजोर बनाउने षड्यन्त्र गरेको भन्दै उनले यसप्रति सबै शिक्षक कर्मचारीहरू सचेत रहनुपर्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast