
काठमाडौँ- ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका-१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो।
सो घटनामा परी ४ जनाको मृत्यु भएको र २ जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ।
गाडीमा ६ जना रहेको र अन्य घाइते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उनका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
मृतक आध्या घाइते सविनाको छोरी र सरिता र विनोद पौडेल सविनाको बुबा आमा रहेको जनाइएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
पाथीभरा दर्शनका लागि आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुगेका उनीहरू होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि होटेल प्यारिजका सञ्चालक सबिन बानियाले बताए।