चीन-अमेरिका व्यापार युद्ध : उपराष्ट्रपति भान्सलाई भारत पठाएर सम्बन्ध सुधार्ने ट्रम्प रणनीति

हिमाल प्रेस ८ वैशाख २०८२ ७:२०
12
SHARES
चीन-अमेरिका व्यापार युद्ध : उपराष्ट्रपति भान्सलाई भारत पठाएर सम्बन्ध सुधार्ने ट्रम्प रणनीति तस्बिर : रासस/एपी

काठमाडौँ- अमेरिका र भारतले आर्थिक अवसरहरू खोल्न र द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गर्न खोजिरहेका बेला अमेरिकी राष्ट्रपति जेडी भान्स चारदिने भारत भ्रमणमा आउँदैछन्।

उपराष्ट्रपति भान्स सोमबार भारत आउन लागेका हुन्। उनले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्थव्यवस्था, व्यापार र भूराजनीतिक सम्बन्धबारे छलफलका लागि भेट गर्नेछन्।

भान्सको भारत भ्रमणलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक महत्त्वपूर्ण कूटनीतिक मिसनको रूपमा हेरेको छ। वासिङ्टन र बेइजिङबीच तीव्र गतिमा व्यापारयुद्ध बढिरहेको बेला उपराष्ट्रपति भान्सको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। बेइजिङ यस क्षेत्रमा नयाँदिल्लीको मुख्य प्रतिद्वन्द्वी ठानिन्छ।

भारत र अमेरिकाबीच हुने व्यापार सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्धलाई उल्लेख्य सहयोग गर्ने छ नै, सम्भावित कूटनीतिक सम्बन्धलाई पनि बलियो बनाउने तर्क भइरहेको छ।

हालै एक खर्ब ९० अर्ब डलरको द्विपक्षीय व्यापारका साथ अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि बनेको हो।

भारतको विदेश मन्त्रालयले यो भ्रमणले ‘दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ’ र दुई नेताले ‘आपसी हितको क्षेत्रीय र विश्वव्यापी घटनाक्रममा विचार आदानप्रदान गर्ने’ भनेको छ।

द्विपक्षीय व्यापार सम्झौता

राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गबार्ड भूराजनीतिक सम्मेलनका लागि भारत आएको केही हप्तापछि र मोदीले वासिङ्टनमा ट्रम्पलाई भेटेको दुई महिनापछि भान्सको भारत आगमन हुने भएको हो।

ह्वाइट हाउसमा दोस्रोपटक आगमन गरेपछि ट्रम्पसँग वार्ता गर्न र भेट गर्न अमेरिका पुग्ने मोदी पहिलो नेता थिए। आफ्नो भ्रमणका क्रममा मोदीले अमेरिकासँग ‘मेगा साझेदारी’ को प्रशंसा गरे र अमेरिकी वस्तुहरूको विस्तृत शृंखलामा पहिले नै भन्सार दर कटौती गरिसकेपछि ट्रम्पको भन्सार दरको सम्भावित प्रभावलाई कम गर्न वार्ता प्रक्रिया सुरू गरे।

यद्यपि ट्रम्पले आफ्नो अहिले रोकिएको भन्सार दर कार्यक्रमको हिस्साको रूपमा भारतलाई २६ प्रतिशत लेभीको लक्ष्य बनाए। यसले भारतीय निर्यातकर्ताहरूलाई केही हदसम्म राहत प्रदान गरेको छ।

आफ्नो भ्रमणका क्रममा मोदीले अमेरिकी वस्तुहरूमा थप भन्सार दर कटौती गर्न, कागजातविहीन भारतीय नागरिकहरूलाई फिर्ता पठाउन र सैन्य उपकरण खरिद गर्न तयार रहेको भन्दै मोदीले सम्भावित व्यापार अवरोधहरूलाई नरम पार्ने प्रयास गरे। दुवै पक्ष व्यापार सम्झौताका लागि वार्ता गर्न सहमत पनि भए।

मोदीले शुक्रबार एलन मस्कसँग कुरा गरेको र स्पेसएक्स सीईओसँग ‘प्रविधि र नवप्रवर्तनका क्षेत्रहरूमा सहकार्यको अपार सम्भावनाबारे छलफल गरेको र भारत यी क्षेत्रहरूमा अमेरिकासँगको साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको’ बताएका छन्।

अमेरिकी व्यवसायसँग भारतको गहिरो सम्बन्ध

भारत द्विपक्षीय व्यापार, प्रत्यक्ष विदेशी लगानी, रक्षा सहयोगका लागि अमेरिकाको नजिकको साझेदार हो भने इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावविरूद्ध लड्न एक महत्वपूर्ण रणनीतिक अमेरिकी–मित्र हो।

यो संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियाबाट बनेको क्वाडको एक हिस्सा पनि हो। क्वाडलाई यस क्षेत्रमा चीनको विस्तारविरूद्ध सन्तुलनका रूपमा हेरिन्छ।

एप्पल इंक र गुगलजस्ता प्रमुख अमेरिकी कम्पनीहरूले हालका वर्षहरूमा भारतमा आफ्नो सञ्चालन विस्तार गरेका छन्। गत महिना मस्कको स्टारलिंकले भारतका दुई शीर्ष टेलिकम अपरेटरसँग उपग्रह आधारित इन्टरनेट सेवाहरू प्रदान गर्न सम्झौता गरेको थियो।

व्यापार सम्बन्धलाई थप बढावा दिन अमेरिका र भारतले अपेक्षित व्यापार सम्झौताअन्तर्गत सन् २०३० सम्म उनीहरूको द्विपक्षीय व्यापारलाई पाँच खर्ब डलरभन्दा बढी गरी दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य राखेका छन्।

मोदी–ट्रम्पको सौहार्द सम्बन्ध

मोदीले ट्रम्पको पहिलो कार्यकालमा राम्रो सम्बन्ध स्थापित गरेका थिए। चिनियाँ राष्ट्रपति सी निजफिङले वासिङ्टनसँगको बढ्दो तनावका बीच बेइजिङलाई एसिया–प्रशान्त क्षेत्रमा भरपर्दो व्यापार साझेदारको रूपमा राख्ने लक्ष्यका कारण यी दुई नेताले विशेष गरी व्यापारमा आफ्ना देशबीचको सहयोगलाई अझ बढाउने सम्भावना रहेको देखिन्छ।

भारतले पनि ट्रम्पलाई विश्वासमा लिन धेरै कदमहरू चालेको छ। भारतले अमेरिकाबाट पाँचौँ पुस्ताको स्टील्थ लडाकु जेटसहित थप तेल, ऊर्जा र रक्षा उपकरणहरू खरिद गर्नेछ।

तथापि अमेरिकाले भारतमा आफ्नो कृषि र डेरी उत्पादनका लागि बजारमा बढी पहुँच चाहन्छ। तर, कृषि क्षेत्रले देशका अधिकांशलाई रोजगारी दिने भएकाले नयाँदिल्ली अहिलेसम्म अनिच्छुक रहेको छ।

भान्सका लागि पारिवारिक यात्रा

भान्सका लागि भारतको यो पहिलो आधिकारिक भ्रमण हो। उनको भारत आगमनलाई पारिवारिक भ्रमणको रूपमा पनि हेरिएको छ। किनभने उनकी श्रीमती उषा भान्स एक हिन्दू र दक्षिण भारतबाट आएका आप्रवासीको छोरी हुन्।

आफ्नो संस्मरण ‘हिलबिली एलेजी’ मा भान्सले पत्नी उषालाई ‘भारतीय आप्रवासीहरूकी अत्यन्त बुद्धिमानी छोरी’ भनेर वर्णन गरेका छन्। उषालाई उनले येल ल स्कुलमा भेटेका थिए। उषाका अभिभावकहरू सन् १९७० को अन्त्यमा अमेरिका सरेका थिए।

भारत भ्रमणका क्रममा भान्सका साथमा पत्नी उषा, उनका छोराछोरी र अमेरिकी प्रशासनका अन्य वरिष्ठ सदस्यहरू हुनेछन्। भान्स दम्पतीले जयपुर र आगराको भ्रमण गर्नुका साथै सांस्कृतिक स्थलहरूको अवलोकनसमेत गर्नेछ।– रासस/एपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast