राप्रपाको आन्दोलन : बटुवालाई सास्ती, झन्डा बेच्नेलाई मस्ती

रमेश भारती ७ वैशाख २०८२ १९:५९
136
SHARES
राप्रपाको आन्दोलन : बटुवालाई सास्ती, झन्डा बेच्नेलाई मस्ती

काठमाडौँ- चैत २० यता माइतीघर-नयाँ बानेश्वर सडकमा मानिसको बाक्लो उपस्थिति हुँदै आएको छ। विद्यालय शिक्षक र कर्मचारी आन्दोलनका कारण सडकमा मानिसको भीड बढेको हो। आन्दोलनका कारण सडक अवरुद्ध हुन्छ। यसको असर काठमाडौँकै ट्राफिक व्यवस्थापनमा परेको प्रहरी अधिकारीहरू बताउँछन्। बुटवा र पैदलयात्रीलाई पनि भीड छिचोलेर गन्तव्यमा पुग्न सकस हुने गरेको छ।

त्यही भीडमा खानेपानी, खरबुजा र मेवा बेच्नेका लागि भने भ्याइनभ्याइ हुन्छ। कतिपय सडक व्यापारीले  आन्दोलनलाई आफ्नो गुजारा जुटाउने अवसर बनाएका छन्। आइतबार त त्यस क्षेत्रमा दुई भिन्नभिन विरोधका कार्यक्रम थिए- शिक्षक आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शन। आन्दोलनका कार्यक्रम लामो समय चल्दा धेरै व्यापार हुने अनुभव व्यापारीको छ।

आन्दोलनको छेउतिर आइतबार भेटिइन् यस्तै एकजना व्यापारी। उनी खानेकुरा नभएर नेपालको झन्डा बेच्न बसेकी थिइन्। राप्रपाले व्यवस्थाको विरोध गर्दै राजतन्त्रका पक्षमा बिजुलीबजारमा प्रदर्शन गरिरहँदा  राष्ट्रिय झन्डा बेच्न व्यस्त भेटिएकी हुन् जुम्ला तातापानी गाउँपालिका–४ की नवीना पाण्डे।

लोकसेवा आयोगको परीक्षाको तयारीमा जुटेकी पाण्डे राप्रपाको प्रदर्शनमा झन्डा  बेचेर केही रुपैयाँ आर्जन गर्न सकिने उद्देश्यका साथ बिजुलीबजार पुगेकी थिइन्। झन्डाको व्यापार गर्दै अधिकृतको तयारी पनि गरिरहेको उनी बताउँछिन्। उनले यसअघि चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा तीन घण्टामा ४० हजार रुपैयाँको झन्डा बेचेको बताइन्।

पाण्डेले राप्रपाले बल्खुमा  गरेको सभाका क्रममा पनि झन्डाको व्यापार गरेर उनले पैसा कमाएकी थिइन्। बल्खुमा उनले १५ हजार रुपैयाँको झन्डा बिक्री गरेकी थिइन्। एउटा झन्डा बिक्री गरेपछि साढे दुई सय रुपैयाँसम्म मुनाफा हुने गरेको उनको भनाइ छ।

पाण्डे भन्छिन्,‘आन्दोलनका बेला मात्रै यो व्यापार गर्ने हो। झन्डा बेच्न आन्दोलनस्थलमै पुग्ने गरेकी छु। आन्दोलनका बेला दैनिक ६ देखि १० हजारसम्म झन्डा बिक्री हुन्छ। १० हजार झन्डा बिक्री हुँदा पाँच हजारसम्म बचत हुन्छ।’

त्यसो त पाण्डे अन्य दिनमा पनि पर्यटकीय क्षेत्रमा झन्डा बेच्न पुग्छिन्। बिहान लोकसेवाको कक्षा लिएर दिउँसो सुन्धारा र वसन्तपुरमा राष्ट्रिय झन्डा बेच्ने गरेको उनले बताइन्। सामान्य दिनमा दैनिक तीन हजार रुपैयाँसम्मको झन्डा व्यापार गर्दै आएको उनले सुनाइन्।

झन्डाको व्यापारको कमाइबाट लोकसेवाको तयारी र भाइको कलेज खर्च जुटाइरहेको पाण्डेले बताइन्। तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी अन्य रोजगारीको खोजीमा नलागेर सोझै झन्डाको व्यापारमा लागेकी हुन्।

आरम्भमा एक हजार रुपैयाँको झन्डा लिएर वसन्तपुरमा व्यापार थालेकी पाण्डे  नाफा हुन थालेपछि यही व्यापारमा रमाएकी हुन्।

जुम्लाबाट आएर काठमाडौँमा धेरै दुःख गरेपछि अरू सबै काम छोडेर झन्डाको व्यापार रोजेको पाण्डेको भनाइ छ।

पाण्डेजस्तै जुम्ला कोटीचौकरी तारा न्यौपाने पनि नयाँ बानेश्वर क्षेत्रमा राष्ट्रिय झन्डा बेच्न व्यस्त थिइन्। उनले आइतबार दुई हजार रुपैयाँको झन्डा बेचेको बताइन्। शिक्षाशास्त्रमा बीएड न्यौपाने शिक्षक सेवा आयोगको तयारीमा छिन्। दिउँसो झन्डाको व्यापार गर्ने र बिहान शिक्षक सेवा आयोगको तयारीका लागि कक्षा लिने गरेको उनले बताइन्।

उनले चैत १५ गते तीनकुनेमा राजवादीहरूले गरेको प्रदर्शनमा १७ हजार रुपैयाँको झन्डा व्यापार गरेको सुनाइन्। त्यस्तै बल्खुमा राप्रपाको प्रदर्शनमा उनको ११ हजारको झन्डाको व्यापार भएको थियो।

‘आन्दोलनमा सहभागी हुन आएकाहरूले झन्डा लैजाने गरेका छन्। त्यसैले व्यापारका लागि सडकमा आएकी हुँ। दुईदेखि पाँच सय रुपैयाँमा झन्डा बिक्री भइरहेको छ,’ न्यौपानेले भनिन्।

आन्दोलनका बेला पाँचदेखि ६ हजारसम्मको झन्डा बेच्दा साढे दुई हजार आम्दानी हुने गरेको छ।  सधैँ काठमाडौँको सुन्धारामा झन्डाको व्यापार गर्दै आएकी न्यौपाने राजवादी र राप्रपाको आन्दोलन भएका बेला प्रदर्शनस्थलमै पुग्ने गरेकी छन्।

पाँचजनाको समूहमा रहेका उनीहरू पालैपालो सुन्धारा र वसन्तपुरमा झन्डाको व्यापार गर्दै आएका छन्। उनीहरू सबै राजवादी र राप्रपाको आन्दोलन भएका बेला झन्डा  व्यापार गर्न नछुटाउने बताउँछन्।

प्रकाशित: ७ वैशाख २०८२ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast