
काठमाडौँ– काठमाडौँ प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका सात नेतालाई पक्राउ गरेको जनाएको छ। प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले राप्रपाका नेताहरूले निषेधित क्षेत्र तोड्ने संकेत पाएपछि पक्राउ गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार पक्राउ परेकामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल र उपाध्यक्ष सरोज क्षेत्री र राष्ट्रिय उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य रहेका छन्। लिङदेन , तामाङ र शाही संघीय प्रतिनिधिसभाका सांसद हुन्।
पक्राउ परेका अर्का एकजनाको नाम भने खुलेको छैन। बोहराले भने, ‘निषेधित क्षेत्र तोड्ने योजना बनाएको जानकारी पाएपछि उहाँहरूलाई नियन्त्रणमा लिएका हौँ। तीनजना परिसरमा राखिएको छ भने अन्य चारजनालाई सिंहदबार प्रहरी वृत्तमा राखिएको छ।’
राप्रपाले आइतबार काठमाडौँमा सरकारविरोधी प्रदर्शन गर्न लागेको थियो। प्रदर्शनको तयारीका लागि अध्यक्ष लिङ्देनसहितका नेताहरू सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा छलफलमा थिए। सोही क्रममा प्रहरीले उनीहरूलाई निगरानीमा राखेको थियो। उनीहरूलाई प्रदर्शनस्थल बिजुलीबजार जान प्रहरीले रोक लगाएपछि प्लेकार्ड देखाएर सिंहदरबारभित्रै नाराबाजी गरेका थिए।
नाराबाजीमा उत्रिएपछि नेताहरूलाई नियन्त्रणमा लिएर परिसरमा लगिएको प्रवक्ता बोहराले बताए। राप्रपाले बिजुलीबजार क्षेत्रबाट निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो।
चैत १५ गते काठमाडौँको तीनकुनेमा दुईजनाको ज्यान जाने गरी भएको घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गरिनुपर्ने, सोही प्रकरणमा प्रक्राउ परेका नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतलाई रिहा गर्नुपर्नेसहितका माग राखेर राप्रपाले आइतबार काठमाडौँमा प्रदर्शनको तयारी गरेको थियो।
प्रदर्शनकै क्रममा निषेधित क्षेत्र तोड्ने योजना पार्टीको थियो। नेताहरू पक्राउ परेपछि बिजुलीबजार क्षेत्रमा भेला भएका राप्रपा कार्यकर्ता तितरबितर भएका छन्।