
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता सिंहदरबारबाट पक्राउ परेका छन्। अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र नेता ज्ञानेन्द्र शाहीलाई प्रहरीले आइतबार सिंहदरबारबाट पक्राउ गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले बिजुलीबजार क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको थियो। प्रदर्शनमा निस्किनुअघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए। राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखेको थियो।
‘सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबारभित्रै गिरफ्तार गरेको छ’, श्रेष्ठले भने। उनले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदै गरेका नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
सांसद शाहीले सिंहदरबार गेटमा नाराबाजी सुरु गरेपछि प्रहरीले सिंहदरबार गेटभित्रै दुईजनालाई नियन्त्रणमा लिएको थियो। प्रकाउ पर्नुअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लोकतान्त्रिक अधिकार खुम्च्याउन खोजेको आरोप लगाएका थिए। उनले भने, ‘बोल्न पाउने, लेख्न पाउने र प्रदर्शन गर्न पाउने अधिकार खुम्च्याउन खोजियो त्यसैले सरकारको नजिकै प्रतीकात्मक प्रदर्शन गरेका हौँ।’
राप्रपाले तीनकुनेमा चैत १५ गते भएको घटनाको न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। यसैगरी नेताहरू रवीन्द्र मिश्र, धवलशमशेरसहितलाई रिहाइ गर्न माग गरेको छ।