आन्दोलनरत शिक्षकहरूलाई अनेरास्ववियुले दियो यस्तो चेतावनी

हिमाल प्रेस ७ वैशाख २०८२ १३:४०
2.5k
SHARES
आन्दोलनरत शिक्षकहरूलाई अनेरास्ववियुले दियो यस्तो चेतावनी

काठमाडौँ- नेकपा एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुले विद्यार्थीलाई घेराबन्दीमा नपार्न आन्दोलनरत शिक्षकहरूलाई चेतावनी दिएको छ। अनेरास्ववियुका महासचिव समिक बडालले आइतबार शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गर्दै यस्तो चेतावनी दिएका हुन्। देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा ऐनको माग गर्दै विगत १९ दिनदेखि राजधानी केन्द्रित आन्दोलनमा छन्।

शिक्षकहरू आन्दोलित हुँदा विद्यार्थी भर्ना प्रक्रिया अवरुद्ध भएको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन। यसैगरी ११ गतेदेखि तोकिएको कक्षा १२ को अन्तिम परीक्षा पनि अन्योलमा परेको छ।

बडालले शिक्षकहरूलाई आग्रह गरेका छन्, ‘तपाईंहरू केवल तलब खाने कर्मचारी होइन, समाजको नेतृत्वकर्ता हुनुहुन्छ। विद्यार्थीको भविष्य अन्धकारमा राखेर पाइएको कुनै पनि सफलता अस्थायी हुन्छ। अब आन्दोलनको ऊर्जा विद्यालय फर्केर प्रयोग गर्नुस्। आफ्ना मागका लागि लड्नुहोस्, तर विद्यार्थीलाई घेराबन्दीमा नपारौँ।’

संगठनले सरकार र शिक्षक महासंघलाई तीनबुँदे माग पनि अघि सारेको छ। महासंघले शिक्षक आन्दोलनको न्यायपूर्ण माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन संसदमा टेबल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग माग गरेको छ।

यसैगरी महासंघलाई पनि आन्दोलन अनिश्चितकालीन बनाउँदै विद्यार्थीकै भविष्यमा आँच पुऱ्याउने काम बन्द गर्न आग्रह गर्दै जिम्मेवार पेसागत संगठन भएर समाधानमुखी वार्ताको बाटो समात्न माग गरिएको छ। अनेरास्ववियुले वैशाख १२ गते सुरु हुने संसद् अधिवेशनमा शिक्षा ऐन टेबल गरी दीर्घकालीन संस्थागत निकासको खाका प्रस्तुत गर्न पनि माग गरेको छ।

शिक्षक आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थाका निकट स्वार्थ समूहहरूले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजी संस्थातर्फ लतार्न गम्भीर षड्यन्त्र गरिरहेको दाबी संगठनको छ। विद्यालय बन्द हुनेबित्तिकै निजी विद्यालयहरू भर्ना खुला गर्दै आकर्षक अफरको प्रचार गरिरहेको संगठनको विज्ञप्तिमा उल्लेख छ।

‘शिक्षक आन्दोलनबाट सबैभन्दा बढी लाभ उठाउनेहरू निजी शिक्षण व्यावसायिक गठजोड र शिक्षा व्यापारमा संलग्न स्वार्थ समूहहरू हुनेछन्, जबकि सबैभन्दा बढी पीडित हुने भनेका सर्वसाधारणका बालबालिका र विद्यार्थीहरू हुन्’, विज्ञप्तिमा उल्लेख छ।

संगठनले सरकार, शिक्षक महासंघ र शिक्षा नीति बनाउने सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदै भनेको छ, ‘शिक्षा कुनै गुट, संगठन वा सरकारको स्वार्थको खेल होइन। यो ५० लाखभन्दा बढी विद्यार्थीको भविष्यसँग जोडिएको जीवनमरणको सवाल हो। शिक्षा जोगाउनु, सुधार्नु र सुदृढ बनाउनु आजको प्रमुख राष्ट्रिय कर्तव्य हो। यसलाई थाती राखेर राजनीति गर्न खोज्ने जोकोही पनि इतिहासले माफ गर्नेछैन।’

संगठनले शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति ऐक्यबद्धता प्रकट गर्दै शिक्षाजस्तो संवेदनशील पेसामा आबद्ध गुरुहरूले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन गर्नु गम्भीर पेसागत प्रश्न रहेको ठहर गरेको छ।

प्रकाशित: ७ वैशाख २०८२ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast