
काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले १९औं दिनको आन्दोलन कार्यालय समयमा माइतीघर-नयाँ बानेश्वर सडकमा गरेको छ। गत चैत २० गतेदेखि सुरु आन्दोलन १२ देखि ३ बजेसम्म सोही ठाउँमा भएको थियो। कार्यालय समयमा शैक्षिक आन्दोलन हुँदा यातायात प्रभावित बनेको छ।
कार्यालय समयमा आन्दोलन गर्दा सरकारलाई थप दबाब पर्ने महासंघका एक केन्द्रीय समिति सदस्यले जानकारी दिए।
उनले भने,‘हामीले १८ दिनसम्म १२ देखि ३ बजेसम्म आन्दोलन गर्याैं। यो समयमा आन्दोलन गर्दा सर्वसाधरणलाई मात्रै दुःख भयो। विशेषगरी सरकारी कर्मचारीलाई कुनै अवरोध भएन। उहाँहरूले निर्धक्क काम गर्नुभयो। नेता, सांसद, मन्त्रीलाई पनि अवरोध भएन। कतिपय निजी विद्यालयले महासंघको अनुरोध स्वीकार गरेनन्। कार्यालय समयमा प्रदर्शन गर्दा यी सबैलाई प्रभाव पार्ने उद्देश्यले ९–१२ आन्दोलन गरेका हौं।’
त्यसैगरी, उनले आजै माइतीघर मण्डलामा राप्रपाको आन्दोलन हुने भएकाले पनि महासंघले आन्दोलनको समय तालिका परिवर्तन गरेको जानकारी दिए।
अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग महासंघको छ।