
इटहरी- इटहरी २० तरहराको पानीपिया जंगलमा मध्यराति कार दुर्घटना भएको छ। धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो।
दुर्घटनामा इटहरी १ बस्ने ४० वर्षीय विष्णु राउतको मृत्यु भएको हो। तत्काल गम्भीर घाइते भएका उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। उपचारको क्रममा राति १२ बजेर २० मिनेटमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
सडकबाट पूर्वतर्फ रहेको जामुनको रूखमा ठोक्किएर दुर्घटना हुँदा अन्य तीनजना घाइते भएका छन्। कार चालक रामधुनी ७ बस्ने ३० वर्षीय विवेक लामा, इटहरी उपमहानगरपालिका ४ बस्ने ४३ वर्षीय गंगा बस्नेत र इटहरी १ बस्ने ३१ वर्षीय कल्याण कटवाल घाइते भएका छन् । जसमध्ये चालक लामाको सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कार तीव्र गतिमा रहेका कारण दुर्घटना भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।