
काठमाडौँ– बंगलादेशको उत्तरी भागमा एक प्रमुख हिन्दू नेता भाबेशचन्द्र रोयको अपहरणपछि हत्या भएको हो।
यो घटनाप्रति भारतले बंगलादेशसँग कडा आपत्ति जनाएको छ।
साथै भारत सरकारले मोहम्मद युनुस नेतृत्वको बंगलादेशको अन्तरिम सरकारले अल्पसंख्यक समुदायको सुरक्षा गर्न नसकेको आरोप लगाएको छ।
दिनाजपुर जिल्ला घर भएका भाबेशको बुधबार घरनजिकैबाट अपहरण भएको थियो। घाइते अवस्थामा घर ल्याइएको उनको मृत्यु भएको थियो।
५८ वर्षीय भाबेशको घर राजधानी ढाकाबाट करिब ३३० किलोमिटर उत्तर–पश्चिमस्थित दिनाजपुर जिल्लाको बसुदेवपुरमा रहेको छ।
बुधबार दिउँसो करिब साढे चार बजेतर्फ भाबेशलाई एउटा फोन आएको थियो। फोन गर्ने व्यक्तिले नै उनीमाथि आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले प्रहरी र आफन्तलाई उद्धृत गर्दै भनेको छ।
डेली स्टारको रिपोर्टअनुसार फोन आएको ३० मिनेटपछि दुईवटा मोटरसाइकलमा सवार चार जना उनको घर पुगेको थियो। मोटरसाइकलमा आएका व्यक्तिहरूले नै भाबेशको अपहरण गरेको आशंका गरिएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भाबेशको अपहरणपछि बर्बर हत्या गरिएको भन्दै दुःख व्यक्त गरेका छन्।
विना कुनै भेदभाव र बहाना हिन्दूसहित सबै अल्पसंख्यक सुरक्षा उपलब्ध गराउन भारतको विदेश मन्त्रालयले बंगलादेश सरकरालाई ध्यानाकर्षण गराएको छ।