
काठमाडौँ- प्रमुख राजनीतिक दलहरू वर्तमान व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रातिक संविधानको रक्षाका लागि एकै ठाउँमा उभिनुपर्नेमा एकमत भएका छन्।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रबीच यस्तो समझदारी बनेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको हो।
समसामयिक र देशको विद्यमान परिस्थितिका विषयमा केन्द्रित छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अगाडि बढ्ने विषयमा तीनै शीर्ष नेताहरूबीच समान मत देखिएको छ।
बैठकपछि प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेलले विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अगाडि बढ्ने विषयमा शीर्ष नेताहरूमा समान मत देखिएको बताए।
त्यस्तै संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गर्ने तथा मुलुकको शान्ति एवं अमनचयनमा खलल पु¥याउनेहरूप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरूसहित गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको उनले बताए।
शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्यायका विषयमा पनि छलफल भएको थियो। बैठकमा संक्रमणकालीन न्यायासँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामका बारेमा छलफल भएको खरेलले जानकारी दिए।
छलफलमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीका सल्लाहकार खरेल सहभागी थिए।