प्रचण्डको नबिकेको बोली

किरण पौडेल ७ वैशाख २०८२ ७:४०
84
SHARES
प्रचण्डको नबिकेको बोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- नौ महिनाअघि सरकारबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि लाग्ने गरेको आरोप हो- ‘सत्ताबिना प्रचण्ड एकछिन पनि टिक्न सक्दैनन्’, ‘प्रचण्ड अहिले पानीबाट निकालिएका माछाजस्ता भएका छन्।’

२०६२/६३ यता शासनसत्तामा सबैभन्दा बढी समय रहेको दल माओवादी अध्यक्ष प्रचण्डलाई छटपटी हुनु स्वाभाविक रहेको जानकारहरू बताउँछन्।

गत असारमा एमाले र कांग्रेसबीच गठबन्धन भएपछि प्रचण्ड सरकारबाट बाहिरिएका थिए। प्रतिपक्षमा पुगेलगत्तै उनले सरकार ‘बिचौलियाले बनाएको’,‘दोषीलाई कारबाहीको भागीदार नबन्ने सर्तमा बनेको’जस्ता अभिव्यक्ति दिएर केपी ओली सरकारको विरोध गर्न थालेका थिए।

प्रतिपक्षी दलका नेताले सरकारको कार्यसम्पादनमा प्रश्न उठाउनु स्वाभाविकै मानिन्छ। पछिल्ला दिनमा उनी सरकारविरुद्ध जसरी प्रस्तुत भएका छन्- त्यसले फेरि सरकार परिवर्तन हुन लागेको चर्चा हुन थालेको थियो। ओली सरकारविरुद्ध प्रचण्डका पछिल्ला अभिव्यक्ति हुन्- ‘सरकार आफ्नै बोझले ढल्दैछ’, ‘केही हप्तामै ढल्छ’, ‘सरकारको चर हल्लिसक्यो, ढलिहाल्छ।’

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि ओली सरकारप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेपछि प्रचण्डलाई थप बल पुग्यो।

ओलीप्रति नागरिकस्तरमा पनि सन्तुष्टि छैन। सार्वजनिक कार्यक्रममा उनीविरुद्ध नारा मात्रै लागेको छैन, पार्टीले आयोजना गरेको कार्यक्रममा उनले भाषण गर्दै गर्दा कार्यकर्ताको लर्कोले सभास्थल छाडेका दृश्य पनि देखिएका छन्।

ओलीविरुद्ध भइरहेका यस्ता गतिविधिलाई समेत आधार बनाउँदै प्रचण्डले सरकार ढल्ने घोषणा गरेका थिए। माओवादी वृत्तमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार चलाउन प्रस्ताव गरेको कुरासमेत बाहिरियो। यद्यपि माओवादीको उच्च नेतृत्व र प्रचण्डको सचिवालयले यो प्रस्तावको खण्डन गरेको छ।

प्रचण्डले जसरी अभिव्यक्ति दिए, त्यो किसिमको राजनीति अघि बढ्ने संकेत देखिएको छैन। न प्रचण्डले भनेजस्तै गरी कांग्रेस-एमालेबीच सम्बन्ध बिग्रिएको छ। किन यस्तो हल्ला फिँजाइयो त?

कांग्रेस-एमालेबीच खटपट नभएको चाहिँ होइन। कांग्रेस सभापति इतरका नेताहरू सरकारको कार्यशैलीमा असन्तुष्ट थिए भने एमाले नेताहरू ओली सरकारप्रति रक्षात्मक रूपमा प्रस्तुत हुन छाडेका थिए।

कांग्रेस नेताहरूका अनुसार प्रचण्डले कांग्रेसभित्रको राजनीतिमा खेल्न सरकार ढाल्ने बताएका हुन्। ‘प्रचण्डले हामीबीचको तिक्ततामा खेल्न खोजे। तर हामीले बुझेकै थियौँ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्। ती पदाधिकारीका अनुसार कांग्रेस-एमालेबीचको गठबन्धनमा कुनै खटपट भएको छैन।

गृहमन्त्री रमेश लेखक पनि सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउँछन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उनले भने, ‘सरकार सहमतिका साथ अघि बढिरहेको छ। ‘साथीहरुले सरकार ढल्छ-ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ।’

ओली सरकारको कामकारबाहीलाई लिएर कांग्रेसमा असन्तुष्टि बढेको छ। कांग्रेस नेता शेखर कोइराला सरकारको कार्यशैलीप्रति असन्तुष्ट छन्। उनी सार्वजनिक रूपमै कांग्रेस-एमाले सरकारले काम गर्न नसकेको गुनासो गर्छन्।

कोइराला मात्रै होइन, महामन्त्रीद्वय गगन-विश्वसमेत ओलीप्रति असन्तुष्ट छैनन्। प्रचण्डले यी सबै विषयवस्तु बुझेर सरकार ढल्ने दाबी गरेका हुन्। सरकारी कामकारबाहीमा चित्त नबुझेर औँला उठाउँदैमा समीकरण नबदलिने कांग्रेसका ती पदाधिकारीको दाबी छ।

‘सरकार चल्नुपर्छ तर यही तरिकाले चल्न सक्दैन भन्ने हाम्रो बुझाइ हो,’ कांग्रेस नेतृ प्रतिमा गौतम भन्छिन्, ‘सरकार चलोस् भन्ने हाम्रो काम हो तर डेलिभरी दिन सक्नुपर्‍यो।’
महामन्त्री थापाले सरकार ‘ट्याक्टर’को गतिमा हिँडेको बताएका थिए। थापा निकट एक नेताका अनुसार ओलीले सहयात्री दल कांग्रेससँग समन्वय नगरेकोमा असन्तुष्टि थियो।

‘ओलीले सरकारबारे छलफल गर्न बैठक बोलाउने तर निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति बढेकोमा महामन्त्री थापा असन्तुष्ट हुनुहुन्छ,’ ती नेता भन्छन्, ‘सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङालई हटाएको र समयमा गभर्नर नियुक्ति गर्न नसकेको विषयमा असन्तुष्टि देखियो।’

प्रचण्डको पहिलो योजना थियो-ओली सरकार ढाल्ने। उनी सरकार ढाल्न देउवालाई प्रधानमन्त्री बनाउने योजनामा थिए। संविधानतः ठूलो दलको हैसियतले अब देउवाकै पालो थियो।

माओवादीका एक नेताका अनुसार प्रचण्डले ‘हामीलाई सरकार नदिनुहोस्, आफैँ चलाउनुहोस्। समर्थन दिन सक्छौँ’, भन्ने प्रस्ताव देउवासमक्ष पुर्‍याएका थिए। तर देउवा डेग चलेनन्।

प्रचण्डले बाहिरबाहिर ओली सरकारविरुद्ध चरम निराशा बाँडिरहेका थिए। उनले राजावादी आन्दोलन बढ्नुको प्रमुख कारण नै ओली सरकार हो भन्न भ्याएका थिए। प्रचण्डको यो चाललाई देउवाले चासो नदिएको कांग्रेस नेताहरू बताउँछन्।

कांग्रेस नेताहरूका अनुसार सबै चालबाजी विफल भएपछि प्रचण्डले ‘कांग्रेस-एमाले’कै नेताले भनेअनुसार सरकार ढल्छ भनेको हुँ भन्दै बचाउ गर्न थालेका छन्। कांग्रेसभित्र खेल्ने योजनामा पनि प्रचण्ड सफल हुन सकेनन्।

ओलीको यस्तो निर्णय

प्रचण्डको ‘सरकार ढल्छ’ भन्दै अभिव्यक्तिविरुद्ध एमालेले आधिकारिक रूपमै खण्डन गर्‍यो। गत सोमबार बसेको एमाले सचिवालय बैठकले प्रचण्डको अभिव्यक्ति खारेज गरेको हो।

बैठकले सरकार परिवर्तनसम्बन्धी प्रचण्डको अभिव्यक्ति सरकारबाहिर हुँदाको कुण्ठा र पीडाबोध मात्रै भएको निष्कर्ष निकालेको थियो। ‘अहिले सरकार परिवर्तनको सम्भावना र सान्दर्भिकता छैन। सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ता मोहबाहेक केही होइन’, एमाले प्रवक्ता राजेन्द्र गौतम भन्छन्।

माओवादी अध्यक्ष प्रचण्डले अब चाँडै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउँदै आएका थिए। प्रचण्डको अभिव्यक्तिप्रति ओलीले कांग्रेस नेताहरूसँग समन्वय बढाएका थिए।
मुख्यतः कांग्रेस-एमालेबीच भागबन्डामा असन्तुष्टि थियो। गभर्नरमा कसलाई ल्याउने विषयमा विवाद थियो भने प्रहरी एआईजीमा ककसलाई ल्याउने भन्नेमा ओली-देउवामा असन्तुष्टि थियो। ओलीले लचकता देखाएर गभर्नर कांग्रेसलाई छाड्ने निर्णय लिएका कारण असन्तुष्टि घटेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रको बैठक डाकेपछि कांग्रेस सकारात्मक बढेको बुझाइ नेताहरूको छ। यद्यपि कांग्रेसका केही प्रतिनिधि बैठकमा अनुपस्थित थिए।

विगतका सरकार सञ्चालनबाटै देउवाले प्रचण्ड प्रवृत्तिलाई बुझेको नेताहरू सुनाउँछन्। यसअघिको सरकार सञ्चालनमा प्रचण्डले विभिन्न समयमा फेरेका गठबन्धनका कारण देउवा यसपटक ‘ब्याक’ भएनन्।

‘प्रचण्डजीले सुरुवातबाटै सरकारबारे कुरा गर्नुभा हो। तर हामी धोका दिनेमा छैनौँ,’ देउवा निकट नेता मीन विश्वकर्मा भन्छन्, ‘सरकार सच्चिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग हो तर सरकारलाई हामीबाट धोका हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast